खोपको दोस्रो डोज लगाउन अप्ठ्यारो नपर्ने गरि खोप खरिद गर्ने सरकारको तयारी

कोरोना खोपले काम गरेर असर देखा परेको होः विज्ञ



Download our app to get more features

काठमाडौ, ३ फागुन । सरकारले अबको २८ दिनभित्र कोरोना विरुद्धको खोप खरिद गरिसक्ने बताएको छ । कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले पहिलो डोज लगाइसकेकाहरुलाई अप्ठ्यारो नपर्ने गरी सरकारले थप २० लाख खोपको डोज खरिद गरिसक्ने बताए ।

उनले खोप खरिदको सबै प्रक्रिया पूरा भइसकेको र अबको २८ दिनभित्र खोप खरिद गर्ने गरि तयारी भइसकेको बताए । उनले पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज दिने समयसम्म सरकारले थप खोप खरिद गरिसक्ने भन्दै खोपको विश्वसनियतालाई लिएर कुनै आशंका नगर्न पनि आग्रह गरे । उनले भने, ‘खोप यहि मिति यहि दिन आउँछ भनेर भन्न सक्ने अवस्था छैन । सरकारले खोप खरिदका लागि सबै तयारी गरिसकेको छ । बजेट पनि विनियोजन भइसकेका हुनाले खोप खरिद हुन्छ र समयमै नेपाल आउँछ भन्नेमा ढुक्क भए हुन्छ ।’

कार्यक्रममा बोल्दै राज्यमन्त्री राउतले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपाल सरकार उत्कृष्ट काम गर्न सफल भएको दाबी गरे । मन्त्री रावतले महामारीमा सरकारले केही गरेन भन्नेहरुलाई सोचेकोभन्दा धेरै काम गरेर देखाएको बताए । फलस्वरुप तोकिएको मितिभन्दा एक महिना पहिला खोप ल्याइएको उनले बताए । दोस्रो चरणको खोप प्रकृया अगाडि बढेको भन्दै खोपमा लगाउन कुनै पनि ग्याप नरहने उनले दाबी गरे ।

उनले कोरोना महामारीको सुरुवाती समयमा स्वास्थ्य मन्त्रालयले काम गरेन भन्नेहरुलाई राज्यमन्त्री रावतले हालसम्मको कार्य प्रगति नियाल्न आग्रह गरे । नेपालमा २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने उदेश्य रहेको मन्त्री रावतले बताए । यस्तै कोरोना भाइरस विरुद्धको खोप निर्धक्क भएर लगाउन विज्ञहरुले आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले अहिलेको खोपमा कुनै समस्या नरहेकोले बताए । कार्यक्रममा खोप शाखाका प्रमुख डा. झलक गौतमले खोपप्रति शंका नगर्न आग्रह गरे । खोपबारे भ्रम नछर्न आग्रह गर्दै उनले कोरोना खोप लगाउनेलाई हालसम्म केही नभएको जानकारी दिए । एक व्यक्तिलाई एक डलर बराबर खोपमा लगानी गरे १६ डलर बराबरको फाइदा हुने भन्दै डा. गौतमले विश्वका १६ देशमा लगाइरहेको यो ‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा हाल ७० वटा खोप क्लिनिकल ट्रायलमा रहेको, २० वटा खोप तेस्रो चरणमा रहेको र एउटा खोपले विश्व स्वास्थ्य संगठनको मान्यता पाएको जानकारी दिए । नेपालमा प्रयोग भइरहेको खोपलाई पनि विश्व स्वास्थ्य संगठनले केही दिनमै मान्यता दिने क्रममा रहेको उनले जानकारी दिए ।

यस्तै, कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई विभिन्न असर देखिनु भनेको खोपले काम गरेको रुपमा बुझ्नुपर्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्नेलगायतका प्रतिक्रिया भएको बताउँदै यी समस्या सामान्य भएको उल्लेख गरे । खोप विज्ञ डा. श्यामराज उप्रेतीले भने, ‘यस्ता समस्या देखिनु खोपले काम गर्दैछ भन्ने हो । त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

खोपविज्ञ डा. श्यामराज उप्रेतीले खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । सरकारले पहिलो र दोस्रो डोज खोपको अवधि ४ हप्ता हुने जनाएको थियो । तर, विश्व स्वास्थ्य संगठनको फेब्रुअरी १० को निर्णयअनुसार दोस्रो खोप जति लामो समयावधिमा लगायो त्यति बढी प्रभावकारी हुने बताएपछि नेपाल सरकारले पनि दोस्रो डोज ८ देखि १२ हप्ताको अवधिमा लगाउने निर्णय गेको बताए । उप्रेतीका अनुसार पछिल्लो समय देखिएको भाइरसको नयाँ भेरियन्टहरुमा पनि यही खोपले काम गर्ने विभिन्न अध्यायनले देखाएको छ ।

उनले भने, ‘नयाँ भेरियन्टमा पनि हाल बनेका खोपले काम गर्छ तर प्रभावकारी कम देखिएको छ ।’ नेपालमा हाल २ लाख जनाले खोप लगाउँदा कसैलाई पनि गम्भिर असर नगरेको उप्रेतीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी मन्त्रालयको रहेको बताए । उनले हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रकृया अगाडि बढेको जानकारी दिए । डा. पोखरेलले दोस्रो चरणको खोप अबको केही हप्तामै आउने संकेत गरे । पोखरेलले भने, समुदायमा खोप पाउनुपर्ने वर्गले खोप पाएका छैनन्, जबसम्म समुदायका मानिसलाई खोप पायौँ भन्ने अवस्था रहँदैन त्यो बेलासम्म खुसी हुन सकिँदैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला पहिलो चरणमा ५५ वर्षभन्दा माथि उमेरसमूहका व्यक्तिले खोप पाउनुपर्ने भए पनि अन्य समूहलाई खोप सुरु गरिएकोमा सन्तुष्ट छैनन् । उनले संक्रमणपश्चात बढी जटिलता हुने समूहलाई खोप लगाउन आवश्यक रहेको बताए । समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक छ, बास्तोलाले भने । कोरोना भ्याक्सिन लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनी बताउँछन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले कोरोना महामारीकै बीचमा खोप ल्याएर सरकारले धेरै राम्रो काम गरेको बताए । मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले समाजमा स्वास्थ्य पत्रकारहरुले स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन ठूलो भूमिका खेलेको र खोप अभियानलाई सफल बनाउनका लागि पनि पत्रकाहरुको भूमिका हुनुपर्ने बताए ।

Last modified on 2021-02-16 07:48:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts