पाँच दिनमा जम्मा २२४१ पत्रकारले लगाए कोभिडबिरुद्धको खोप
काठमाडौ, १ फागुन । गएको सोमबार देखि शुक्रबार सम्ममा २ हजार २ सय ४१ जना पत्रकारले कोभिड १९ बिरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । सोही अवधीमा दुतावास र कुटनीतिक नियोगका गरी ८ सय ९१ जना र नेपालस्थित संयुक्त राष्ट्र संघ र त्यसअन्तरगर्तका निकाय (युएन एजेन्सी)मा कार्यरत ३ सय ४८ जनाले खोप लिएका छन् ।
भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज कोभिसिल्ड आएपछि सरकारले गत १४ माघ देखि कोभिडबिरुद्धको खोप अभियान शुरु गरेको थियो ।
मन्त्रालयले पहिलो चरण अन्तरगर्त २४ माघसम्म स्वास्थ्यकर्मी र तिनका सहयोगी, एम्बुलेन्स सववहान चालक, सरसफाईकर्मी, बृद्धाश्रममा रहेका बृद्धबृद्धा, जेलमा रहेका कैदीबन्दी लगायतलाई खोप दिएको थियो । २६ माघ देखि काठमाडौँ उपत्यकाका पत्रकार, कुटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई खोप दिने निर्णय गरेको थियो ।
गएको १४ देखि ३० माघ सम्मको अवधीमा करीब १ लाख ९० हजार जनाले कोभिड १९ बिरुद्धको खोप लिएको डा. गौतमले जानकारी दिए ।
खोप लगाउनका लागि पत्रकारलाई नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल, कुटनीतिक नियोग तथा दुतावासका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल र युएन एजेन्सीका कर्मचारीका लागि पाटन अस्पतालमा खोप केन्द्र बनाइएको थियो । शुरुमा बाँसबारीस्थित गंगालाल अस्पताल समेत खोप केन्द्रको सूचीमा राखिएपनि पछि त्यसलाई हटाइएको थियो ।
डा. गौतमले अब आइतबारबाट पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप दिइने बताए ।
यसमा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, बैंकका कर्मचारी, जिल्लाका प्रहरी, सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खोप दिइने व्यवस्था मिलाइएको छ ।