शताब्दी पुरुष सत्यमोहन र धर्मपत्नी राधादेवीले मरणोपरान्त आफ्नो शरीर दान गर्ने
काठमाडौं, १ फागुन । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरोपरान्त आफ्नो शरीर दान गर्ने भएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने बताएका हुन् ।
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन् । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान गर्ने बताए ।
घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नु भएको बताए । उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रचेकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको उल्लेख गरे ।