रुपन्देहीमा चारसय एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा



Download our app to get more features

रुपन्देही, ३० माघ । रुपन्देहीमा चार सयभन्दा बढी एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। रुपन्देही जिल्लामा हालसम्म चार सयभन्दा बढी एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक मनोज पौडेलले बताए । 

स्वास्थ्य बीमामा संलग्न हुनका लागि पाँचजना सदस्यसम्मको परिवारका लागि वार्षिक ३५ सय रुपियाँ तिर्नु पर्ने नियम छ।

तर, नेपाल सरकारको पछिल्लो निर्णय अनुसार अति गरिब, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठ रोगी, जटिल खालको क्षयरोग, एचआइभी संक्रमितका लागि भने लाग्ने सम्पूर्ण शुल्क नेपाल सरकारले नै व्यहोर्ने व्यवस्था गरेकोले निः शुल्क बीमा गरिदिएको पौडेलले बताए।

बीमित सदस्य बिरामी भएमा वार्षिक एक लाखसम्मको खर्च बीमा बोर्डले व्यहोर्ने गरेको छ। सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन नेपाल सरकारले २०७२ चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको थियो।

लुम्बिनी प्रदेशका अन्य जिल्लामा यसअघि नै कार्यक्रम लागु भएता पनि रुपन्देही जिल्लामा चालु आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। जिल्लाबाट एचआइभी संक्रमित भइ नियमित एआरटी खाइरहेका व्यक्तिका लागि गत पुस महिनादेखि हालसम्म बीमा बोर्ड, लुम्बिनी प्रादेशिक अस्पताल, एचआइभी रोकथाममा कार्यरत अन्य संघ संस्थाको समेत पहलमा चार सयभन्दा बढी व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक पौडेलले बताए।

बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ। ओपीडी सेवा, ल्याब, भर्ना, औषधीदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाइन्छ। तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परि चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउने प्रावधान छैन।

Last modified on 2021-02-12 14:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts