पिजीमा सरकारीको चारसय सिट खाली

काठमाडौं, २९ माघ । चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तर्फ सरकारी चिकित्सकका लागि छुट्याइएको सिट नै रिक्त भएका छन् ।
चिकित्साशिक्षा नियमावली बनाउँदा सरकारी चिकित्सकलाई बढी सिट छुट्याएपनि सेवारत चिकित्सकको संख्या कम हुनु र धेरैले नाम निकाल्नसमेत नसक्दा यस्तो अवस्था आएको हो ।
चिकित्सा शिक्षा नियमावलीमा खुलातर्फ ५०, सरकारी चिकित्सकलाई ४० र विदेशीलाई १० प्रतिशत सिट निर्धारण गरिएको छ । सरकारी चिकित्सकलाई छुट्याइएको ४० प्रतिशत सिट फुल नभएपछि खुल्ला तर्फबाट लिने तयारी चिकित्सा शिक्षा आयोगले गरेको छ।
पिजी तर्फ उपलब्ध कुल झण्डै १६ सय सिटमध्ये ६ सय सरकारी चिकित्सकले पाएका थिए । तर, ती सिटमा दुई सय २६ जनाले मात्रै सरकारी कोटामा फारम भरेकोमा दुई सयजना मात्रै उत्तीर्ण भए ।
जसका कारण अझै चार सय सिट अझै खाली रहेको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।
खुल्ला प्रतिस्पर्धामा उत्रिएका अब्बल चिकित्सकले सिट नपाएको अवस्थामा सामान्य पास अंकको भरमा पनि सरकारी चिकित्सकले अवसर पाउने अवस्था बनेको छ ।
यसले गुणस्तरमा समेत असर पार्ने दावी निजी क्षेत्रका चिकित्सकहरुको छ । चिकित्सा शिक्षा आयोगका अनुसार प्याथोलोजी, बायोकेमेस्ट्री, एनाटोमी पढ्ने सरकारी चिकित्सक नभएको आयोगले जनाएको छ। सबै रेडियोलोजी, डर्माटोलोजी,अर्थोपेडिक, सर्जरीलगायतका विषय पढ्ने धेरै भएका हुँदा सिट खाली भएको आयोगले जनाएको छ।
‘
सरकारी सेवामा दुई वर्ष दुर्गममा गएर सेवा पूरा गरेका मेडिकल अधिकृत पिजी अध्ययनका लागि योग्य मानिछन्। बाँकी रिक्त भएको सिट खुल्ला प्रतिस्पर्धाबाट हुने छ । डा. गिरीका अनुसार पिजीको पठनपाठन चैत्र २ गतेबाट सुरू हुनेछ।