अब सरकारी अस्पतालमा मात्रै कोरोनाको नि:शुल्क उपचार

काठमाडौं, २८ माघ । सरकारले कोभिड १९ को संक्रमणमा परेकाहरुको उपचार आजबाट सरकारी अस्पतालमा मात्रै हुने बताएको छ । यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा आजको मितिले १० दिनसम्मको मात्रै सोधभर्ना गर्ने स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा आज बसेको आइसिएस कमाण्ड बैठकले कोभिडको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो । यस्तै बैठकले पीसीआर शुल्क समेत समायोजना गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजबाट सरकारी प्रयोगशालामा पीसीआर गराउँदा लाग्ने शुल्क १ हजार तोकिएको बताए । यसअघि पीसीआरको शुल्क २ हजार तोकिएको थियो ।
यस्तै बैठकले खोप अभियानको दोस्रो चरण आगामी २ फागुनबाट सुरु गर्ने भन्दै त्यसको प्राथमिकिकरण समेत गरिईसकेको जनाएको छ ।