वीर अस्पतालको ‘दुवाकोट प्रोजेक्ट’सँग जोडिएका समस्या समाधान गर्न मन्त्रीद्वयको निर्देशन
काठमाडौं, २८ माघ । भक्तपुरको दुवाकोटस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको विस्तारित भवन निर्माणसँग जोडिएका समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्री विष्णु पौडेलले मातहतका विभाग तथा कर्मचारीलाई निर्देशन दिएका छन्।
भवन निर्माण स्थलको स्थलगत अनुगमन गर्दै मन्त्रीद्वय त्रिपाठी र पौडेलले यस्तो निर्देशन दिएका हुन्।
सरकारको प्राथमिकतामा रहेको गुरुयोजना अनुसार ५७० रोपनी क्षेत्रफलको उक्त जग्गामा हेलिप्याड सहितको एक हजारदेखि १५ सय शय्याको अस्पताल, फार्मेसी लगायतका स्वास्थ्यसँग सम्बन्धित कलेज, आवासगृह लगायतका पूर्वाधार बन्ने छन्।
उक्त भवन परिसरमै कर्मचारीका बालबालिका अध्ययनका लागि विद्यालयको समेत परिकल्पना गरिएको छ। न्याम्सको उक्त विस्तारित योजना निर्माणका लागि चासो देखाएको चीनले त्यहाँका अन्य समस्या समाधान भएमात्र योजनाबारे सोच्न सकिने सर्त राखेको थियो।
दुवाकोटमा जानका लागि सडक, बिजुली, खानेपानी र ढलको समस्या समाधान भएमात्र आफूहरुले उक्त योजनाबारे छलफल गर्ने चीनले बताएको थियो।
न्याम्सका उपकूलपति डा. डिएन साहले स्थलगत अनुगमनका क्रममा स्वास्थ्यमन्त्री र अर्थमन्त्रीद्वयले मातहतका विभाग र कर्मचारीलाई समस्या समाधानका लागि काम थाल्न निर्देशन दिँदै खर्चको व्यवस्था सरकारले गर्ने बताएको जानकारी दिए।
उपकुलपति साहका अनुसार स्थलगत अवलोकनमा मन्त्रीद्वयसँगै स्वास्थ्य राज्यमन्त्री नवराज रावत, रेक्टर प्राडा. सुवोध अधिकारी, निर्देशक डा. केदार सेञ्चुरी, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिव, खानेपानी, सडक विभागका प्रतिनिधि तथा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति रहेको थियो।
न्याम्स वीर अस्पतालले भक्तपुरको दुवाकोटमा २०७५ असोज २४ गतेदेखि वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसका लागि सरकारले चालु आर्थिक वर्षमा करिब १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ।
वीर अस्पतालको विस्तारित सेवाका लागि दुवोकोटमा संरचना बन्ने कार्य सुरु हुँदैगर्दा त्यहाँका जनतालाई लक्षित गर्दै मंगलबारबाट बहिरंग सेवा सुरु गरिएको थियो।