पक्षीमा रानीखेतको सङ्क्रमण बढ्यो,देशभरबाट स्वाब सङ्कलन हुँदै



Download our app to get more features

काठमाडौं, २७ माघ । नेपालमा पक्षीहरुमा देखिने रानीखेत रोगको सङ्क्रमण बढेको छ । अस्वाभाविक रुपमा रानीखेतको सङ्क्रमण बढिरहेकाले विशेष सावधानी अपनाउन पशुसेवा विभागले आग्रह गरेको छ ।

हरेक दिन काठमाण्डौका २० देखि २५ ठाउँका ५ सयदेखि ६ सयवटा फार्मबाट आएका स्वाबहरु परीक्षण गर्दा रानीखेत पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बताए ।  उनकाअनुसार काठमाण्डौसहित देशका विभिन्न ठाउँबाट संकलन भएका स्वाब परीक्षण गर्दा रानीखेतको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण फैलनुमा भ्याक्सिन फेल भएर अथवा अरु के कारण हो त्यसबारे विज्ञहरुको समूहले अध्ययन गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । यस्तै सङ्क्रमण धेरै फैलिएको ठाउँ र कारण पत्ता लगाउन गरिने कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भइरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङका लागि आवश्यक जनशक्ति नहुँदा कुन ठाउँमा कसरी सङ्क्रमण फैलिरहेको छ भनेर पत्ता लगाउन गाह्रो भइरहेको विभागका प्रवक्ता ढकालले बताए । रानीखेत रोग लाग्न नदिन किसानहरुले भ्याक्सिन लगाउने गरेका छन् ।

जर्मनी, फ्रान्स, क्यानडा, भारतलगायत देशबाट ल्याइएको खोप नेपालमा प्रयाग हुँदै आएको छ । हरेक वर्ष एक करोड डोजको हाराहारीमा मात्रै नेपालमा खोप उत्पादन हुने र धेरैजसो विदेशबाटै ल्याउनुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।

 यस्तै नेपालमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्र कमजोर भएकोले सोचेअनुसार कुन ठाउँमा सङ्क्रमण कसरी फैलिरहेको छ भनेर पत्ता लगाउन समस्या भइरहेको छ। कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । जसले रोकथाममा सहयोग गर्छ ।

Last modified on 2021-02-10 07:04:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts