संविधानसभा सदस्य खानले रेडक्रस सिद्धार्थ उपशाखालाई जग्गा उपलब्ध गराउने

रुपन्देही, २४ माघ । नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको भवन निर्माणको लागी संविधानसभा सदस्य इस्तियाक अहमद खाँनले जग्गा उपलब्ध गराउने भएका छन् ।
भैरहवामा सम्पन्न भएको उपशाखाको १६ औं साधारण सभामा बोल्दै खाँनले सो कुरा बताएका हुन् ।
भैरहवामा क्रियाशिल रहेका अन्य संघ–संस्थाहरुसँग समन्वय गरि उपशाखालाई भवन निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका प्रमुख अतिथि खाँनले नेपाल रेडक्रस सोसाईटी पूर्ण रुपमा मानविय सेवामा समर्पित भएको बताए ।
नेपाल रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सभापति संजीव शर्मा रेग्मीले थप जिम्मेवारीपूर्वक अगाडी बढ्न’पर्ने आवश्यकता रहेको आँैल्याए ।
उनले रेडक्रसलाई बुझेर समाजलाई यसको बारेमा बुझाउनुपर्ने बताए । यस्तै नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दीपक क्षेत्री न्यौपानेले रेडक्रसमा प्रवेश गर्न मानवीय सेवा गर्ने उद्देश्य लिएर आउनुपर्ने बताए । उनले रेडक्रसप्रति नागरिकको रुचि बढ्दै गएको बताए ।
नेपाल रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सभापति संजीब शर्मा रेग्मीको अध्यक्षता तथा संविधानसभा सदस्य इस्तियाक अहमद खाँनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रेडक्रस सोसाईटी रुपन्देही शाखाका सदस्य तथा बेलहिया उपशाखाका सभापति शुशिल गुरुङ, रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका निवर्तमान सभापति सतिष कुमार चौधरी, सिद्धार्थ उपशाखाका संस्थापक अध्यक्ष गोपालमान राजभण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखा आजीवन सदस्य सीता भट्टराईले बोलेकी थिइन् । उपसभापति एव् कार्यक्रम संयोजक बसन्तकुमार लाल कर्णको स्वागत तथा सचिव राजेश जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वार्षिक साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७६ यूनिट रगत संकलन भएको सचिव राजेश जिसीले जानकारी दिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।