पहिलो चरणको खोप अभियान आजसम्म, छुटेकालाई खोप लगाउन मन्त्रालयको निर्देशन

काठमाडौं, २४ माघ । सरकारले सुरु गरेको कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण आज सकिँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण आज सकिने भन्दै छुटेकाहरुलाई आजसम्म खोप लगाउनका लागि भनेको छ ।
मन्त्रालयले बिहीवार सूचना जारी गर्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी लगायतलाई कोरोना विरुद्धको खोप लगाउँदै आएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप अभियान आजसम्म चल्ने भएकाले उनले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट बञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिएर खोप केन्द्रमा गई खोप लगाउन सक्ने बताएका छन् ।
भारतले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप सरकारले विभिन्न चरणमा लगाउने घोषणा गरेको छ ।