बाजुराको दुर्गम जगन्नाथमा चिकित्सकद्वारा नियमित स्वास्थ्य सेवा सुचारु



Download our app to get more features

काठमाडौं, २२ माघ । बाजुराको दुुर्गम जगन्नाथ गाउँपालिकामा चिकित्सकद्वारा नियमित स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । डा. जस्मीता बलमपाकीलाई भर्ना गरेर पहिलोपटक स्वास्थ्य सेवा सुुुरु गरेको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । 

गाउँपालिकाले जुड्डिमा ५ बेडको अस्पताल सञ्चालनमा ल्याएर चिकित्सकमार्फत स्वास्थ्य सेवा दिएको हो । साथै उक्त अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिएको गाँउपालिकाले जनाएको छ ।

अस्पतालको बिहिवार गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटनपछि बिरामीको चेकजाँच सुरु गरिएको थियो ।

अस्थायी कोभिड अस्पताल भएपनि उक्त अस्पतालबाट नियमित स्वास्थ्य सेवा दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद गैरेले बताए । 

गाउँपालिकामा अस्पताल सञ्चालन आएपछि स्थानीयवासी हर्षित भएका छन् ।

गाउँपालिका–३ का ५७ वर्षीय कटकबहादुर शाहीले गाँउमै पहिलो पटक चिकित्सकद्वारा उपचार पाएको बताएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी सदरमुकाम जान पैसा थिएन्। रोग पालेर बसेको थिए । गाँउमै चिकित्सक आएपछि उपचार भयो’ उनले भने । 

बिहिबारबाट बिरामी चेकजाँच, परामर्शसेवा र औषधि वितरण सुरु गरिएको छ । अस्पतालले नियमित ओपिडी, ड्रेसिङ्ग, सुचरिङ्ग, आइ एण्डडी, कोरोनाको चेकजाँच र बिरामी बेडभर्ना गर्नेगरि सेवा सञ्चालनमा ल्याएको छ । साथै गाउँपालिकाले अस्पतालमा ल्याब सेवापनि सञ्चालन गरेको गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । 
 
अस्पताल सञ्चालनका लागि गाउँपालिकाले कर्मचारी भर्ना कार्यविधि २०७७ अनुसार एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरे सेवा सुचारु गरेको हो। त्यस्तै आवश्यकताअनुसार थप स्वास्थ्यकर्मी भर्ना गर्ने गाउँपालिकाले जनाएको छ । 

उक्त अस्पतालबाट जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र छिमेकी जिल्ला कालीकोटका जनताले स्वास्थ्य सेवा सहज रुपले प्राप्त गर्ने भएका छन् ।

नेपाल सरकारले जगन्नाथ गाउँपालिकामा १० शैंयाको अस्पताल स्वीकृत गरिसकेको र भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको गाउँपालिकाले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts