चिनियाँ खोप ल्याउन नेपालका दुईवटा निजी कम्पनी इच्छुक

काठमाडौं, २२ माघ । चिनियाँ कम्पनी सिनोफर्माले तयार पारेको खोप सिनोभ्याक ल्याउन नेपालका दुईवटा निजी कम्पनीले इच्छा देखाएका छन् । महाराजगञ्जमा कार्यालय रहेको पी एण्ड जी होल्डिङ प्रालि र तिनकुने कार्यलय रहेको हस्पिटेक इन्टरप्राइजेज प्रालि खोप ल्याउने इच्छा देखाएका हुन् ।
त्यसका लागि उनीहरुले औषधि व्यवस्था विभागमा निवेदन समेत दर्ता गराईसकेका छन् । तर आकस्मिक प्रयोगका लागि खोप निर्माता कम्पनीको तर्फबाट आउनुपर्ने आवश्यक कागजात नआउँदा उनीहरुको निवेदन अहिले यत्तिकै थन्किएको छ ।
खोप ल्याउनका लागि दुईवटा कम्पनीले इच्छा देखाएका छन् । तर खोप निर्माता कम्पनी स्वयं भने अहिलेसम्म सम्पर्कमा नआएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए ।
उनले कम्पनीले आवश्यक कागजात बुझाएर स्वीकृति पाएपनि सिनोभ्याक ल्याउन निवेदन हालेका दुईवटा कम्पनीमध्ये एउटालाई मात्रै स्वीकृति दिने जानकारी दिए । उनले सिनोभ्याक खोपको प्रति डोज खोपको मूल्य ६५ डलर भएको र नेपालका लागि ४५ डलरमा उपलव्ध गराउन सकिने भन्दै पत्र आएको समेत बताए ।
केही दिन अघि मात्रै नेपालस्थित चिनियाँ दुतावासको हवाला दिदै चीनले तीन लाख डोज खोप अनुदानमा उपलव्ध गराउन लागेको भन्ने समाचार समेत आएको थियो । तर खोप उपलव्ध गराउनु अघि औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने र त्यसका लागि प्रक्रिया अघि बढी नसकेकोले कहिले आउँछ भन्नेबारेमा भने अझै एकीन हुनसकेको छैन् ।