गोकुलेश्वर अस्पतालले ग्यास्ट्रिकका बिरामीलाई मिर्गौलाको समस्या भएको भन्दै रेफर गरेपछि



Download our app to get more features

धनगढी, २० माघ । दार्चुला जिल्लाको शैलेशिखर नगरपालिका ९ गोकुलेश्वरका २४ वर्षीय हर्क धामीको माघ १६ गते पेट दुखेपछि गोकुलेश्वर अस्पताल पुगे ।

अस्पतालका डाक्टर मियाज अन्सारीले उनको पेटको भिडियो एक्सरे गरे। डाक्टर अन्सारीले दुबै मिर्गौलामा पानी जमेको र सुजन भएकोले तुरुन्त अप्रेसनको लागि अन्यत्र जान भनेपछि धामी र उनको परिवारको होस उड्यो ।

धामीले भने, ‘डाक्टरले मृगौरा खराब भएको र तुरुन्त अप्रेसन गर्न भनेपछि हामी त साह्रै तनावमा भयौं । पैसा पनि थिएन, ऋण सापटी गरेर धनगढीसम्म आए ।’

डाक्टरले नै अप्रेसन गर्नुपर्ने भनेपछि अत्तालिएका धामी रातारात धनगढी पुगेको बताउँछन् । उपचारको लागि काठमाडौं नै जानुपर्छ भनेर उनी ४ वटा प्लेनको टिकट पनि लिए । तर काठमाडौं जानुभन्दा पहिले उनले धनगढीस्थित माया मेट्रो अस्पतालमा जाँच गराए ।

माया मेट्रो अस्पतालका रेडियोलोजिस्ट र सर्जन डाक्टर विनायक तिमिल्सिेनाको उपचारपछि उनको पेटमा ग्यास्ट्रिक समस्या देखियो । तर मिर्गौलामा कुनै समस्या नदेखिएको बताएपछि उनको होस ठेगानमा आयो । उनले भने, ‘डाक्टरहरुले दुई थरी समस्या बताएपछि धेरै अन्योलमा थिए। धनगढीमा होटलमै बसियो ।’

डाक्टर तिमिल्सिनाले भने अनुसारको ग्यास्ट्रिकको औषधी ३ दिन सेवनपछि हाल आफ्नो स्वास्थ्य अवस्थामा सामान्य भएको र दार्चुला फर्किरहेको धामी बताउँछन् ।
तर स्वास्थ्य अवस्था सामान्य भए पनि धामीले अनाहकमा दुःख दिएको दुखेसो सुनाएका छन् ।

उनले भने, ‘डाक्टरलाई हामी भगवान मान्छौ । तर त्यही डाक्टरले झुक्याउँछ । दुःख दिने कार्य गर्छन् भने कसरी विश्वास गर्ने?’ धामीले ३ दिनको उपचारको क्रममा करिब ६० हजार बढी खर्च गरेको बताउँछन् ।

बिरामीको हितको लागि रेफर
उता गोकुलेश्वरका डाक्टर अन्सारीले विरामीको लक्षण हेरेर केही औषधी र थप उपचारको लागि सुविधायुक्त अस्पताल जानको लागि सल्लाह दिएको बताउँछन् ।

दुर्गम पहाडी जिल्लाका अस्पताल उसै पनि जनशक्ति र साधन स्रोतको हिसाबले पनि सम्पन्न नभएको, विरामीको पेट दुखाइ नियन्त्रणमा नआएपछि, भिडियो एक्सरे रिपोर्टमा देखिएको जटिलता र विरामीको यसअघि नै एपेन्डिसाइटिसको अप्रेसन समेत गराएकोले सुविधा युक्त स्थानमा उपचारको लागि जान सल्लाह दिएको डाक्टर अन्सारी बताउँछन् ।

उनले भने, ‘म विशेषज्ञ पनि होइन, एमबीबीएस डाक्टर हो । म र मेरो टिमका सदस्यले बिरामीको स्वास्थ्य अवस्था सुधारमा ल्याउन धेरै प्रयत्न गर्यो । यहाँ विशेषज्ञ सेवा पनि छैन । उहाँको अवस्थामा सुधार नभएपछि रेफर गरियो । त्यो बिरामीको हितको लागि नै हो ।’

Last modified on 2021-02-03 07:36:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts