चितवनमा प्राप्त कोरोनाविरुद्धको खोप ३० प्रतिशत मात्रै बाँकी, थप खोप आज आउने

चितवन, २० माघ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको आज सातौँ दिन भयो ।
चितवनमा पनि आज सातौँ दिन खोप अभियान सञ्चालन भैरहेको छ । जिल्लाभर तीनवटा केन्द्रमा गरी अभियानको छैटौँ दिन सोमवारसम्म जम्मा दुई हजार आठ सय ९४ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । पहिलो चरणमा चितवनमा चार हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए ।
उनका अनुसार प्राप्त खोपको ७० प्रतिशत सोमवारसम्म सकिएको छ । बाँकी ३० प्रतिशत खोप मंगलबार साँझसम्म लगभग सकिने उनले बताए । पहिलो चरणमा जिल्लाभर स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीहरुलाई गरी छ हजार दुई सय हाराहारीलाई खोप लगाउने उनले बताए ।
तीन हजार पाँच सय डोज थप खोप माग गरिएको छ । मंगलबार साँझसम्म थप खोप आईपुग्ने प्रमुख तिवारीले जानकारी दिए ।
अहिलेसम्म खोप लगाएका मध्ये केहीमा सामान्य असर देखिएको भएपनि कसैमा गम्भीर प्रकारको असन नपाईएको खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको स्वास्थ्य टोलीका संयोजक डा. युवानिधि बसौलाले बताए ।
खोप लगाएका मध्ये केहीमा बान्ता आउने, ज्वरो आउने, चक्कर लाग्ने, पखाला लाग्ने, निन्द्रा नलगाउने जस्ता सामान्य लक्षण देखिएको आफुलाई जानकारी आएको संयोजक डा। बसौलाले बताए । उनीहरूमा खोप लगाएदेखि पाँच देखि छ घण्टाभित्र त्यस्ता लक्षण देखिएको छ ।
अझै केहीमा मनमा एक किसिमको डर देखिएको भन्दै अन्योलमा नपरी ढुक्क भएर खोप लगाउन समेत उनले सबैलाई अनुरोध गरेका छन् । खोप लगाएका मध्ये केहीमा मनोवैज्ञानिक असर समेत देखिएको हुनसक्ने उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्न समेत डा. बसौलाले सबैमा अनुरोध गरेका छन् ।
चितवनमा अहिले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई खोप लगाईएको छ । सो अन्तर्गत जिल्लामा स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक, कोभिडका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवनमा भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिएको छ । त्यस्तै, रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिएको छ । माडीमा माडी नगरपालिभित्रकालाई खोप दिएको छ । पहिलो चरणको खोप अभियान नौ दिनसम्म चल्ने छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।