नेपालमा वर्षेनी २० हजारभन्दा बढी क्यान्सरका बिरामी थपिँदै

काठमाडौं, १९ माघ । नेपालमा वर्षेनी साढे २० हजार नयाँ क्यान्सरका बिरामी थपिँदै गएका छन् ।
नेपाल अवुर्दरोग निवारण संस्थाका अनुसार नेपालमा वर्षेनी २० हजार ५ सय ८ नयाँ क्यान्सरका बिरामी थपिएका छन् । जसमा १३ हजार ६ सय २९ जनाको मृत्यु भइसकेको छ भने नेपालमा हाल झन्डै ६० हजार बिरामीहरु रहेका छन् । यस्तै विगत ५ वर्षको अवधिमा नेपालभर ४३ हजार क्यान्सरुका बिरामीहरु पूर्ण स्वस्थ भएको पनि संस्थाले बताएको छ ।
विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा संस्थाले पत्रकार सम्मेलन गरी विश्वभर पछिल्लो समय क्यान्सर रोगका बिरामीहरु बढ्दै गएको र हाल विश्वभर क्यान्सरका कारण ९९ लाख ५८ हजार १ सय ३३ जना मानिसको मृत्यु भएको बताएको छ । यस्तै हाल विश्वभर १ करोड ९२ लाख ९२ हजार ७ सय ८९ जना पीडित भएका छन् ।
नेपालसहित विश्वभर सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर रोगी बढ्दै गएको हुँदा सुर्तीजन्य पदार्थ विरुद्ध गरिँदै आएको कार्यक्रमलाई अझ ंप्रभावकारी बनाउन आवश्यक रहेको पनि संस्थाका कार्यबाहक अध्यक्ष महेश श्रेष्ठले बताए ।
संस्थाले माघ २१ गते विश्व क्यान्सर दिवसका अवसरमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा कर वृद्धि सम्बन्धी नीति कार्यान्वयनको प्रभावकारिता विषयक कार्यशाला गोष्ठी पनि गर्ने भएको छ ।
यस वर्षको विश्व क्यान्सर दिवसको नारा 'म हुँ र म सक्छु 'तय गरिएको छ ।