मरेका कुखुरा बेचेको पाइए कारबाही हुने, धेरै पक्षी मरेको देखेमा जानकारी दिन मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, १९ माघ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एकै ठाउँमा धेरै पक्षी मरेको देखेमा जानकारी दिन आग्रह गरेको छ । मन्त्रालयले बर्ड फ्लुको जोखिम रहेकाले धेरै मात्रामा कुखुरा मरेको र ती मरेका कुखुरा बेचेको पाइए कारबाही गर्ने जनाएको हो । 
मन्त्रालयले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा रहने गरेका छन्, उनीहरुलाई धेरै मात्रामा कुखुरा मरेको पाइए तत्काल जानकारी गराउन पनि आग्रह गरेको छ । 

पालिका र सम्बन्धित निकायसँग समन्वय गरि अनुगमन गरिरहेकाले कसैले मरेका कुखुरा बिक्री गरेको पाइए कारबाही गर्ने मन्त्रालयका सहसचिव डाक्टर विमलकुमार निर्मलले बताए । मन्त्रालयले बर्ड फ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरेको पनि उनले बताए । बर्ड फ्लु नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टोली तयार गरेर काम भइरहेको जानकारी दिए ।  

काठमाण्डौको तारकेश्वर नगरपालिका–७ मा गरिएको नमुना परीक्षणमा बर्ड फ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना सङ्कलन गरि परीक्षणको दायरा बढाएको जनाएको छ । तारकेश्वरमा पालेका कुखुरा, टर्की र हाँसमा बर्ड फ्लु देखिएको हो । 

नेपालमा देखिएको बर्ड फ्लु भाइरस ‘एच फाइभ एन एट’ रहेको र विगतमा देखिएको ‘एच फाइभ एन वान’ भन्दा कम खतरा रहेको डाक्टर निर्मलको भनाइ छ । कम खतरा भए पनि जोखिम हुन सक्ने भन्दै उनले नियन्त्रणका लागि मन्त्रालयले विभिन्न प्रयोगशाला, आठ वटा क्वरेण्टीन कार्यालय र २४ वटा चेक पोस्टलाई सतर्क रुपमा राखेको पनि जानकारी दिए । 

Last modified on 2021-02-03 07:34:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts