कोरोना विरुद्धको खोप लगाएकाहरुको स्वास्थ्य सामान्यः स्वास्थ्य मन्त्रालय
तेस्रो दिनसम्म ४६ हजारभन्दा बढीले लगाए खोप

काठमाडौं, १६ माघ । नेपालमा तेस्रो दिनको खोप अभियान जारी रहँदासम्म ४६ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार साँझसम्मको तथ्यांक अनुसार देशभरका ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बागमति प्रदेशमा कोरोना विरुद्धको खोप लगाइएको छ । बागमित प्रदेशमा मात्रै हालसम्म १५ हजार ६ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
यस्तै प्रदेश १ मा ७ हजार ३ सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् भने गण्डकी प्रदेशमा हालसम्म ७ हजार १ सय ५३ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
त्यसैगरी प्रदेश नम्बर २ मा ४ हजार ६ स य ५०, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जना र कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ जनालाई हालसम्म कोरोना विरुद्धको खोप लगाइएको छ ।
मन्त्रालयले बुधवारदेखि जारी गरेको खोप अभियान अन्तर्गत खोप लगाएकाहरुको खोपको अवाञ्छित घटनाको अनुमगन तथा व्यवस्थापन गर्नका लागि देशैभरी विज्ञ चिकित्सक टोली परिचालन गरिसकेको छ ।
यस्तै हरेक अस्पतालहरुमा सम्भाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टीम तथा औषधिको पनि समुचित व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएको तथ्यांक प्राप्त भएको र उनीहरुको अवस्था हाल सामान्य भइसकेको छ । यस्तै हालसम्म खोप लगाएकाहरुमध्ये कसैमा पनि जटिल अवस्था नदेखिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालसम्म कोरोना विरुद्ध लगाएकाहरुको अवस्था सामान्य र स्वस्थ रहेकाले सबैलाई ढुक्क भएर खोप लगाउन पनि आग्रह गरेको छ ।
नेपाल सरकारले भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप गत बुधवारदेखि अभियान स्वरुप सुरु गरेको र पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र कैदीहरुलाई दिँदै आएको छ ।