जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित

काठमाडौं, १५ माघ । कोभिड–१९ जोखिम भत्ता नदिएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका आवासीय चिकित्सकहरु फेरी आन्दोलित भएका छन्।
कोरोना संक्रमितको उपचारमा खटाएर अस्पतालले जोखिम भत्ता भने नदिएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन्।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आव्हानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरुले बिहीबारदेखि आकस्मिक बाहेकका अस्पतालका अन्य सेवामा संलग्नै हुन छाडेका छन्। उनीहरु ड्युटीको समयमा अस्पताल परिसरमा धर्ना दिएर बसेका थिए।
कोरोना संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता दिने भनेपनि अस्पताल प्रशासनले अहिलेसम्म जोखिम भत्ता नदिएपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डाक्टर किरण पाण्डेयले बताए।
वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले सबै कर्मचारी नै कोभिड ड्युटीमा खटिएको बताउँदै बजेट नभएकाले उनीहरुलाई कोभिड जोखिमभत्ता दिन नसकेको बताए।
उनले आवासियबाहेकका अन्य स्वास्थ्यकर्मीहरुलाई पनि बजेटको अभावमा जोखिम एक महिनाको मात्र जोखिमभत्ता उपलब्ध गराएको बताए।