दोस्रो चरणमा पनि कोरोना खोप ल्याउने सबै तयारी पूरा



Download our app to get more features

काठमाडौं, १५ माघ । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया लगभग अन्तिम चरणमा पुर्याएको छ ।

भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको हो । 

मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताए । नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन । 

खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डाक्टर समिर अधिकारीले बताए । यस्तै, पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरिँदै छ । हिजो प्राविधिक कारणले खोप पुर्‍याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन सुरु गरिएको थियो  । यस्तै, लुम्बिनी  प्रदेशका केही जिल्ला र  सुदूरपश्चिमको बाजुरामा पनि हिजो खोप लगाउन सुरु भएको थिएन ।

आज देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए । 

यस्तै, हिजो कोरोना खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Last modified on 2021-01-28 18:56:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts