चितवनमा पनि सुरुभयो कोरोनाविरुद्धको खोप अभियान
यस्तो थियो रौनक (फोटो फिचर)

चितवन, १४ माघ । चितवनमा पनि आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिएको छ ।
जिल्लाभर एकैसाथ तीन वटा केन्द्रबाट पहिलो पटक कोरोनाविरुद्धको खोप सञ्चालन गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार भरतपुरस्थित भरतपुर अस्पताल, माडीस्थित बगौडा अस्पताल र टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा एकैसाथ बुधवारदेखि खोप कार्यक्रम सञ्चालन भएको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई लगाईने उनले बताए । सोमबार चितवनमा चार हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए । प्राप्त भ्याक्सिनले अपुग हुने भएकोले थप खोपको माग गरिएको समेत उनले बताए ।
उक्त खोपबाट हुन सक्ने सम्भावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाको संयोजकत्वमा चिकित्सक, नर्श र पारामेडिक्स सहितको सात सदस्यीय टोली गठन गरिएको छ । संयोजक डा. बसौलाले खोप कार्यक्रमको लागि सबै तयारी पुरा भएको जानकारी दिए ।
यसैबीच भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले पहिलो खोप लगाएर कार्यक्रमको सुरूवात गरेका छन् । खोप सञ्चालन हुँदैगर्दा अस्पतालमा छुट्टै रौनक देखियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।