सुदूरपश्चिममा खोप अभियान सुरु, स्वास्थ्य निर्देशक अवस्थीले लगाए पहिलो खोप



Download our app to get more features

धनगढी, १४ माघ । सुदूरपश्चिममा पनि कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्। 

काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्। 

सेती प्रादेशिक अस्पतालसहित प्रदेशका ९ वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरिएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन्।

भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ। 

संघीय सरकारले सुदूरपश्चिमका लागिे कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ।

आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरी कोरोना विरुद्धको खोप पठाएको थियो।

Last modified on 2021-01-28 06:41:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts