नेपालमा कोरोना विरुद्धको खोप अभियान आजबाट सुरु हुँदै
यस्तो छ सरकारको तयारी

काठमाडौं, १४ माघ । नेपालमा कोरोना विरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना विरुद्धको खोप अभियानको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे गर्नेछन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्ने बताए ।
उनले कार्यक्रममा प्रधानमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी, मुख्यसचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहित सात वटै प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रीहरुको सहभागिता रहनेछ ।
खोप अभियानको सुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यकाका ४ वटा मुख्य केन्द्र र उपत्यका बाहिरका ७ वटा केन्द्रलाई जोडिनेछ ।
प्रधानमन्त्री ओलीले खोप अभियानको सुभारम्भ गर्दा त्यसको प्रत्यक्ष प्रसारण गरिनेछ । उद्घाटन शत्रमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले आफ्ना मन्तव्य राख्नेछन् ।
सरकारले आजदेखि सुरु गर्ने खोप अभियानमा पहिले सफाइ कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइने छ । त्यसपछि क्रमशः नर्स, डाक्टर, सुरक्षाकर्मीलाई खोप लगाइनेछ ।
कोरोना विरुद्धको खोपका लागि देशभर १ सय २० वटा खोप केन्द्र बनाइएको छ । खोप अभियान सफल बनाउका लागि सरकारले सातै प्रदेशमा खोप पठाइसकेको छ भने १८ गतेसम्म ७७ वटै जिल्लामा खोप अभियान सुरु गरिसक्ने सरकारको तयारी छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने भएकाले खोप लगाउने सबै स्वास्थ्यकर्मी निगरानीमा रहने डा. गौतमले बताए ।
डा. गौतमले खोपको पहिलो डोज लगाएकालाई ठिक एक महिनापछि अर्काे डोज लगाउने पनि बताए ।
सरकारले कोरोना विरुद्धको प्राप्त भएको खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्कसँग खोप लगाउन सबैलाई अपिल गरेको छ ।