बाजुराको हिमालीमा ल्याब सेवा सुरु, त्रिवेणीमा गाउँघर चिकित्सक शिविर सञ्चालन

बाजुरा, १० माघ । बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुरु गरिएको छ । जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको हिमालीमा स्वास्थ्य परीक्षणको लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरण सहितको ल्याब सञ्चालनमा ल्याइएको हो ।
ल्याबमा क्षयरोगको जाँच, मलेरिया जाँच, कालाजार, यौन तथा सरुवा रोगहरु, रगत, दिशापिसाब लगायत १ सय भन्दा बढी जाँचहरु गरिने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकृत राजबहादुर भण्डारीले बताए ।
ल्याब सुरु भएसँगै सामान्य गर्भवती जाँच गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ ।
यस्तै त्रिवेणी नगरपालिकामा दुई दिने गाउँघर चिकित्सक शिविर कार्यक्रम सुरु भएको छ। शुक्रबारबाट त्रिवेणी नगरपालिका वडा नम्वर ४ टुडेगडामा उक्त शिविर सुरु भएको हो ।
शिविर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय र जिल्ला अस्पताल बाजुराको आयोजनामा सञ्चालन भएको हो ।
त्रिवेणी नगरपालिकाको सहयोग र समन्वयमा नगरपालिकाभित्र रहेका फरक क्षमता भएका र अन्य व्यक्तिलाई शिविरबाट सेवा दिइएको बताइएको छ । सामान्य रुपमा आर्थिक अभावले उपचार गर्न नसक्ने व्यक्तिहरुलाई मध्यनजर गरि शिविर सञ्चालन गरिएको नगरप्रमुख रामसिंह रावलले बताए ।
शुक्रबार पहिलो दिन १ सय २० जनाले सामान्य उपचार र फरक क्षमता भएका ८० जनाले सेवा लिएको प्रमुख प्रशाकिय अधिकृत चिरन्जिवी प्रसाद शाहले बताए ।