धनगढीको कोभिड अस्पताल खाली, प्रदेशभर सक्रिय संक्रमितको संख्या १४ सय १४



Download our app to get more features

धनगढी, १० माघ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका गम्भीर संक्रमितको संख्या कम भएका छन् । कुनै बेला गम्भीर संक्रमितको चापले शय्या अभावको समस्या खेपेको सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पताल अहिले करिब खाली भएको छ ।  

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार कोभिड अस्थायी अस्पतालमा अहिले धनगढीका १ जना संक्रमितको मात्रै उपचार भइरहेको छ । 

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ती संक्रमितको अवस्था खतरामुक्त रहेकाले सम्भवतः उनी पनि कोरोना जितेर चाडै घर फर्किने सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

अस्पतालमा उपचाररत संक्रमितको संख्या कम भएपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । 

सुदूपश्चिम प्रदेशमा पछिल्लो केही साता यता कोरोना परीक्षण कम भएपछि संक्रमणदर समेत घटेको देखिएतापनि जोखिम कायमै रहेको हो ।  

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या पनि करिब डेढ हजार छ । निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभर संक्रिय संक्रमितको संख्या १ हजार ४ सय १४ रहेको छ । 

उनीहरु मध्ये सबैभन्दा धेरै कैलालीमा ४ सय ८२ सक्रिय संक्रमित छन् । बझाङमा २ सय ३०, डोटीमा १ सय ६२, कञ्चनपुरमा १ सय ३३, डडेल्धुरामा १ सय १६, अछाममा ७०, दार्चुलामा ६३, बाजुरामा ६०, बैतडीमा ५० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशभर हालसम्म १४ हजार २ सय ७७ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ४ सय ६८ जना संक्रमण मुक्त भएका छन् भने ७४ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-01-24 06:09:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts