भारतले अनुदानमा दिएको खोपले ५ लाखलाई मात्रै पुग्ने, थप खोप किन्ने तयारीमा सरकार



Download our app to get more features

काठमाडौं, ९ माघ । विश्व नै कोरोना महामारीका कारण आक्रान्त बनेको बेला विभिन्न मुलुकले कोरोना भिाइरस विरुद्धको खोपको विकास गरेर मानिसमा लगाउन थालेपछि त्यसले आशा जगाएको छ । की अब सबै सामान्य हुने छ । एकपछि अर्को गर्दै विभिन्न मुलुकले कोरोना भाइरस विरुद्धको खोप विकास गरेर मानिसहरुमा लगाउन थालेका छन् र खोपको विकास नगर्ने मुलुकहरुले खोपको माग गर्न थालेका छन् । 

सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना भाइरस कोभिड˗१९ ले विश्वभर चिनिएपनि बेलायतमा सन् २०२० को नोभेम्बरमा फेला परेको कोरोनाको नयाँ प्रकारले फेरि संक्रमण दरलाई बढाउन थालेको छ । यस अवस्थामा अमेरिका, बेलायत, चिन र भारतले कोरोना विरुद्धको खोप मानिसमा लगाउन थालेपछि राहत भने भएको छ । 

भारतले कोरोना विरुद्धको खोपको विकास गरेपछि भारतसँग जोडिएका छिमेकि मुलुक मात्रै होइन एसिया कै मुलुकहरुमा आशा जागेको छ । अझ भारत सरकारले एसियन मुलुकहरु र आफ्ना छिमेकि मुलुकहरुलाई अनुदान र सहज रुपले खोप उपलब्ध गराउने भनेपछि त्यसले झन् आशा जगाएको छ । 

औषधि व्यवस्था विभागले भारतको कोभिशिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि भारत सरकारले १० लाख डोज नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको छ । १० लाख डोजले नेपाली नागरिकलाई अपुग हुने भएकाले सुरुको चरणमा कोरोना महामारीको अग्रस्थानमा खटिनेलाई खोप लगाउने तयारी सरकारले गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना खोप खरिदका लागि सुरुमा सरकार सरकारबीच समन्वय हुने बताए अनुसार नै यो खोप पनि नेपाल आउन लागेको हो । तर, आगामी दिनमा नेपाली जनतालाई पुग्ने गरि खोप ल्याउने विषयमा निजी क्षेत्रका लागि पनि बाटो खुला गरिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए ।

हाम्रो डाक्टर न्यूजसँगको कुराकानीमा उनले हाल आउन लागेको १० लाख डोजले ५ लाख जनसंख्यालाई पुग्ने भएपनि प्राप्त खोपमध्ये १० देखि १५ प्रतिशत खोप काम नलाग्ने बताए । एक जनालाई मात्रै दुई डोज लगाउनुपर्ने भएकाले १० लाख डोजले ५ लाख जनसंख्यालाई लक्षित गरेर खोप अभियान थालिने उनको भनाइ छ ।

उनले भने, ‘खोप व्यवस्थापनका आफ्नै चुनौती हुने हुँदा एक भाइल खोलिसकेपछि त्यसलाई कसरी समयमै सकाउने र लक्षित वर्गलाई पुर्याउने त्यसमा ध्यान केन्द्रीत गरेर खोप अभियान सुरु गरिन्छ । सुरुमा कोरोना फ्रन्टलाइनरलाई खोप लगाउने हुँदा भाइलको सुरक्षामा विशेष ध्यान पनि दिन पनि आवश्यक हुन्छ । जसको तयारी भइसकेको छ ।’

उनले थपे, ‘खोप आएको दिनदेखि वा भोलिपल्ट देखि नै खोप लगाउन थाल्न मिल्दैन । त्यसकारण खोप नेपाल आएपनि कम्तिमा १० देखि १५ दिनसम्म सबै खोप भण्डार केन्द्रमा खोप पुग्ने र अनिमात्रै लगाउन थालिने छ ।’

नेपालले हाललाई भारतबाट अनुदान स्वरुप खोप पाएपनि बाँकी जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न सक्ने भन्दै डा. गौतमले विस्तारै निजी क्षेत्रले पनि खोप खरिद गर्न सक्ने व्यवस्था गरिने बताए । साथै गाभि एलायन्स अन्तर्गतको कोभ्याक्सबाट पनि नेपालले खोप पाउन सक्ने भएकाले सुरुमा जोखिमयुक्त वर्गलाई ध्यानमा राखेर अपुग भएको खण्डमा सरकारले पनि खोप आफै खरिद गर्न सक्ने उनले उल्लेख गरे ।

डा. गौतले थपे, ‘झन्डै ९ लाखभन्दा बढी हाल कोरोना विरुद्धको महामारीमा अग्रस्थानमा खटिरहेका छन् । उनीहरुलाई पुग्ने गरि खोपका लागि भारतसँग थप छलफल भइरहेको छ । कोभ्याक्सले पनि खोप उपलब्ध गराउनेमा विश्वस्त छौं । यदि कोभ्याक्सबाट खोप आउनमा ढिलाई भयो भने भारतसँगै खोप खरिद गर्न सकिन्छ । ’

‘नेपाल सरकार कोरोना विरुद्धको खोप कहाँबाट किन्न पाइन्छ भन्ने तयारी मै थियो । तर, भारतले सहज बनाएर खोप अनुदानमा दिएको छ । बाँकी खोप खरिद गरिन्छ’ उनले भने, 'तर, कति डोज खरिद गर्ने भनेर अहिले नै यकिन भन्न सकिँदैन ।'

भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिशिल्ड नामक खोपको उत्पादन गरेको छ । भारतमा यो खोपले आपतकालिन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप पनि हो । बेलायतको अक्सफर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोप भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको छ । सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोरोना विरुद्धको खोपको नाम ‘कोभिशिल्ड’ राखिएको छ । यस खोपलाई भारत सरकारले पुस १९ गते आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो । भारतले खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको ११ दिनपछि नै नेपाल सरकारले त्यो खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दियो । 

आपतकालिन प्रयोगका लागि भारत सरकारले अनुमति दिएको १३ दिनपछि माघ ३ गतेदेखि कोभिशिल्ड खोप भारतमा लगाउन थालियो । भारतमा उत्पादित कोभिशिल्ड खोप हालसम्म भारतमा ६ लाख जनामा लगाइसकिएको छ । जसमा झन्डै एक हजार जनामा यसको साइड इफेक्ट देखिएको छ । जसमा गम्भीर साइड इफेक्टका कारण ७ मध्ये २ जनाको मृत्यु भइसकेको छ । तर, यसमा डराउनुपर्ने अवस्था नरहेको कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा.श्यामराज उप्रेती बताउँछन् ।

खोप लगाउँदा साइडइफेक्ट देखिनुलाई ठूलो मुद्दा बनाउनु उचित नभएको भन्दै डा. उप्रेतीले हालसम्मको अवस्थालाई हेर्ने हो भने यो खोप सुरक्षित र प्रभावकारी भएको पाइएको बताए । 

कसरी महामारीसँग लड्न सकिन्छ भन्नेमा सबैको ध्यान केन्द्रीत भएका कारणले कोरोना खोप लगाएकै कारण मृत्यु भएको भन्ने हालसम्म कुनै तथ्य फेला नपरेको भन्दै डा. उप्रेतीले अरु खोप लगाउनेमा पनि साइड इफेक्ट देखिने र मृत्यु हुने गरेको तर त्यसबारे रिर्पोटिङ नहुँदा त्यसबारे मानिसलाई जानकारी नुहने बताए ।

उनले भने, ‘कोरोना महामारी नयाँ हो । नयाँ महामारी विरुद्धका हरेक लडाई र गतिविधिमा सबैको ध्यान छ । त्यसकारण कोरोना विरुद्धको खोपलाई लिएर हुने हरेक घटनालाई अध्ययन र अनुसन्धान गर्नुपर्छ । त्यसैले कोरोनाको खोप लगाउँदैमा स्वास्थ्यमै समस्या देखिने र मृत्यु नै हुने भन्ने हुँदैन ।’

खोप लगाइसकेपछि आधा घन्टा स्वास्थ्यकर्मीकै निगरानीमा बस्नु पर्ने र खोप पछि देखिन सक्ने सम्भावित साइड इफेक्टबारे खोप लगाउने व्यक्तिलाई जानकारी दिएर मात्रै घर पठाइने उप्रेतीको भनाइ छ ।

लाग्दा भारतमा खोपको आपतकालिन प्रयोगको अनुमति दिइएको खोपलाई नेपालमा पनि आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको र आज खोपको पहिलो खेप नेपाल आइरहेको अवस्थामा यसको प्रभावकारिता र यसले पार्ने प्रभावबारे कुनै अध्ययन भएको देखिँदैन । 

नेपाल मात्रै होइन भारत र अन्य मुलुकहरुमा पनि कोरोना विरुद्धको पहिलो डोज कोरोना महामारीको अग्रस्थानमा खटिनेहरुलाई दिइँदैछ र त्यसको प्रभावपनि उनीहरुमै देखिदैछ । नेपाल सरकारले अनुदान स्वरुप भारतबाट १० लाख डोज खोप पाउँदै गर्दा त्यसको प्रभावकारिता, खोपको व्यवस्थापन, नेपालको जनशक्ति लगायतका कुरामा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । 

सरकारले कोरोना विरुद्धको खोप नेपाल ल्याउनै लाग्दा खोपको प्रभावकारिता दरलाई हेर्ने हो भने भारतको कोभिशिल्ड फाइजर र बायोएनटेकले विकास गरेको खोप तथा मोडर्नाले विकास गरेको खोपभन्दा झन्डै ३० देखि ३५ प्रतिशत कम छ । खोपको पूर्वाभ्यास बिनै नेपालमा भित्र्याउन लागिएको कोरोना विरुद्धको खोपले आशा जगाएको हुनाले एक दुई जनाको मृत्यु हुदा त्यसले आत्तिनु पर्ने र डराउनुपर्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

भारतमा उत्पादित कोभिशिल्ड खोपलाई हालसम्म विकास भएका खोपहरुमध्ये सबैभन्दा बढी प्रभावित बताइएको छ । हालसम्म कोभिशिल्ड खोप लगाएकामध्ये २ जनाको मृत्यु भएको बताइएपनि उनीहरुको मृत्यु खोप कै कारण नभएको बताइएको छ । जबकी कोभिशिल्ड खोपको एफिकेसी रेट अन्यको भन्दा कम भएपनि प्रभावकारिता भने बढी रहेको हालसम्मको नतिजाबाट देखिएको छ । जबकी फाइजर ,एस्ट्रेजेनेका र मोडर्नाको खोप लगाएकाहरुको मृत्यु हुनेको संख्या कोभिशिल्डको भन्दा बढी रहेको पाइएको छ ।

Last modified on 2021-01-23 06:45:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts