शनिबारबाट ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा वितरण हुँदै
एक भाइल खोपबाट १० जनालाई लगाउन सकिने

काठमाडौं, ८ माघ । भारतबाट अनुदानमा आएको कोरोनाबिरुद्धको खोप कोभिसिल्ड शनिबारबाट सात प्रदेशमा वितरण शुरु हुने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले शुक्रबार सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण एकीन गरेपछि आवश्यकताको आधारमा खोप वितरण कार्यलाई शनिबारबाट अघि बढाउने जनाएको हो ।
आज सबै विवरण संकलन भए पछि भोलिबाट खोप वितरणको कार्य शुरु हुने महाशाखा प्रमुख डा. भिमसिंह तिंकरीले भने बताए । उनले प्रदेशमा पठाइएको खोपहरु जिल्लागत रुपमा वितरण हुने र जिल्लाले तोकेको बुथबाट स्वास्थ्यकर्मीहरुले खोप पाउने जानकारी दिएकाछन ।
विभागले स्वास्थ्यकर्मीको संख्या बढी भएको काठमाडौँ उपत्यकामा धेरैवटा बुथ राखे पनि उपत्यका बाहिरका जिल्लाहरुमा सरकारी अस्पतालबाट स्वास्थ्यकर्मीलाई खोप दिने योजना बनाएको छन् । कुनै कुनै जिल्लाले आवश्यकताका आधारमा सहायक बुथ राख्न सक्ने भनिएको छ ।
एक साता देखि १० दिन भित्र खोप अभियान शुरु गर्ने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीलाई दिने बताएको छ । त्यसको संख्या करीब ३ लाख बढी रहेको बताइएको छ ।
यस्तै, विभागले ७७ वटै जिल्लामा खोप केन्द्र तयार गर्ने र एउटा केन्द्रमा एक दिनमा १२० देखि १२५ जनालाई खोप दिइने योजना बनाएको छ । १८ बर्ष माथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यहि केन्द्रमा रहनु पर्ने नियम बनाएको छ ।
एक भाइल खोप खोलिसकेपछि त्यो खोप ६ घण्टा भित्र लगाइसक्नुपर्ने खोप प्रमुख डा झलक गौतमले बताए । 'कोभिसिल्डको एक भाइल खोपबाट १० जनालाई लगाउन सकिन्छ, डा. गौतमले भने ।' यो खोप पनि नेपालमा अरु बेला लगाइने अन्य खोप जस्तै २ देखि ८ डिग्री तापक्रममा रहन्छ ।