चिसोबाट सावधानी अपनाउन सामाजिक विकासमन्त्री बरालको आग्रह

रुपन्देही, ९ माघ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
उनले चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत आग्रह छन् ।
विहिबार एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।
‘चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र पोषणयुक्त खानेकुरा खान, अनावश्यक रुपमा घरबाहिर नबस्न, घर भित्र हिटर, दाउरा, कोइला बाल्दा सावधानी अपनाउन र कुनै स्वास्थ्य समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गइ सेवा लिन विशेष अनुरोध गर्न चहान्छु ।’ उनले भने ।
सामाजिक विकास मन्त्री बरालले चिसो र सितलहरबाट प्रभावित समुदायहरुलाई सहयोग वितरण भइरहेको जानकारी दिए । उनले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन् ।
‘आवश्यक सहयोग नपुगेको स्थान तथा समुदायको पहिचान गरि ति क्षेत्र तथा समुदायलाई न्यानो कपडा तथा खाद्य र पोषण सामाग्री उपलब्ध गराउन हुन, सबै स्थानिय तह, स्थानिय प्रशासन, सरकारी तथा गैरसरकारी निकायहरु, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरुलार्य हार्दिक अपिल गर्दछु ।’ अपिल मार्फत मन्त्री बरालले भने ।
पछिल्लो समयमा चिसो र सितलहरका कारण तराइका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । चिसोका कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालबालीका, अपांगता भएका व्यक्तिहरु, दीर्घरोगी, ज्येष्ठ नागरिक, असाहय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समुदायका मानिसहरु बढि प्रभावित भएका छन् ।