कोरोना विरुद्धको खोपको पहिलो खेप आज भारतबाट नेपाल आइपुग्ने



Download our app to get more features

काठमाडौं, ८ माघ । भारतले नेपाललाई अनुदानमा दिने कोरोना विरुद्धको खोपको पहिलो खेप आज काठमाडौं आउँदै छ । 

बुधवार नेपाल र भारतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतले नेपाललाई कोरोना विरुद्धको खोपको १० लाख अनुदानमा उपलब्ध गराउने बताएको थियो । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदान दिन लागेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । 

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।

Last modified on 2021-01-22 13:07:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts