भारतले आजदेखि नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने



Download our app to get more features

काठमाडौं, ७ माघ । भारतले आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । 

भारत सरकारले खोप उपलब्ध गराउने विषयमा आज अन्तिम निर्णय गर्ने र त्यसपछि मात्रै खोप पठाउने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप उपलब्ध गराउने तयारी भइरहेको छ । त्यसैगरी श्रीलंका, अफगानिस्तान र मोरिससलाई पनि भारतमा बनेको कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताएको छ ।

सरकारले भारतसहित गाभी एलायन्स कोभ्याक्स अन्तर्गत कोरोना विरुद्धको खोपका लागि पहल गरिरहेको छ । जसमा भारतले पहिले खोप उपलब्ध गराउन लागेको छ । भारतले दिने खोप पहिलो चरणमा कोरोना विरुद्धको अग्रपंक्तिमा खटिएकाहरुलाई लगाइने सरकारको तयारी छ ।

भारतले खोप उपलब्ध गराउनुका अघि खोप सम्बन्धी तालिम, खोप भण्डारण, कोल्ड चेन लगायतका विषयमा सम्बन्धीत मुलुकमा कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा पनि जानकारी मागेको छ । यस्तै खोप लगाउने जनशक्तिलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ । भर्चुअल माध्यमबाट सञ्चालित २ दिने तालिम आज सम्पन्न हुनेछ । 

नेपाल सरकारले भारतले विकास गरेको कोरोना विरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि भारतले पनि खोप उपलब्ध गराउन थालेको हो ।

भारतले यसअघि आफ्ना छिमेकी मुलुकका साथै अन्य मुलुकहरुमा कोरोना महामारी र अन्य समयमा पनि विभिन्न औषधि सिटामोल, मास्क, हाइड्रोक्सिक्लोरोक्वीन लगायतका उपलब्ध गराउँदै आएको छ ।

भारतको सिरम इन्स्टीच्यूट अफ इन्डियाले विकास गरेको कोरोना विरुद्धको खोपको एफिकेसी रेट (प्रभावकारिता दर) ६२ प्रतिशत बताइएको छ । हाल यो खोप भारतका विभिन्न राज्यमा लगाउन थालिएको छ । तर, खोप लगाएको एक दिनमै मानिसहरुमा साइड इफेक्ट देखिएको र २ जनाको मृत्यु समेत भइसकेको छ । 

खोपको एफिकेसी रेटको विषयमा भारतमै विवाद देखिएको थियो । कोभिशिल्डभन्दा अमेरिकाको फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोपको एफिकेसी रेट भने ९५ प्रतिशत बताइएको छ भने मोडर्ना र अक्सफर्डले विकास गरेको खोपकोे एफिकेसी रेट ९० देखि ९४ प्रतिशतसम्म रहेको बताइएको छ । 

सरकारले ल्याउन लागेको खोपको भण्डारण उचित नभएको अवस्थामा खोपको एफिकेसी रेटमा समेत प्रभाव पर्ने र त्यसले समस्या उत्पन्न हुन सक्ने विज्ञहरु बताउँछन् ।

Last modified on 2021-01-20 12:25:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts