काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि मकाजुसहित तीन जनाको नाम सिफारिस

काठमाडौं, ६ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेल छन् । अब यी तीन मध्येबाट एक जनालाई मन्त्रिपरषद्ले उपकुलपतिमा नियुक्त गर्नेछ ।
काठमाडौँ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि वर्तमान उपकुलपति डा. मकाजुसहित ४४ जनाले आवेदन दिएकोमा तीना जनाको नाम सिफारिस भएको हो ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिले २७ पुसभित्र सिफारिस समितिका अध्यक्षको व्यक्तिगत इमेलमार्फत् आफ्नो वैयक्तिक विवरण उपलब्ध गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरेको थियो ।
सिफारिस समितिको अध्यक्षको रुपमा रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले व्यक्तिगत इमेल ठेगाना राख्दा उनको विरोधसमेत भएको थियो ।
हालका उपकुलपति डा. मकाजुको दोस्रो कार्यकाल माघ १० गते सकिँदैछ । तर, मकाजुले तेस्रो कार्यकालका लागि पनि आवेदन दिएपछि त्यसको आलोचना भएको थियो ।