नेपालमा पनि कोरोनाको नयाँ प्रकार देखियोः ३ जनामा संक्रमण, अवस्था भने सामान्य



Download our app to get more features

काठमाडौं, ५ माघ । नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल फर्किएकामध्ये ३ जनामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २८ वर्षीया एक जना महिला र ६७ र ३२ वर्षीय २ जना पुरुषहरुमा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार पुष्टि भएको बताए ।
 
उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरिएन्ट लाइनएज बि.१.१.७ वा २०बिर ५०१ वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुस महिनामा बेलायतबाट नेपाल आएका थिए । 

डा. गौतमका अनुसार बेलायतबाट पुस १ गतेपछि नेपाल आएका  सय ७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ आएको थियो । उनीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै गत पुस २७ गते उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो । 

६ जनाको नमूना हङकङमा परीक्षा गर्दा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको हो ।

नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था भने सामान्य भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भैसकेको र ६७ वर्षीया पुरुषमा कोरोना पोजेटिभ भएपनि कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको रोकथामका लागि नेपालमा भ्याक्सिन उपलब्ध नहुँदासम्म कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।

Last modified on 2021-01-19 06:52:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts