क्यान्सरसम्बन्धी सचेतना फैलाउने राधा फाउन्डेशनले वर्षेनी एक पत्रकारलाई पुरस्कृत गर्ने

काठमाडौं, ४ माघ । राधा क्यान्सर सचेतना फाउन्डेशनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
नवलपुरकी पत्रकार एवं अभियन्ता स्वर्गीय राधा बस्यालले स्थापना गरेको फाउन्डेशनले हरेक वर्ष एक जना पत्रकारलाई २० हजार नगद राशी सहित पुरस्कृत गर्ने भएको हो ।
फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले पुरस्कृत हुनका लागि यसै वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशन÷प्रसारण गरेका क्यान्सर सचेतना र हिंसा विरुद्धका ३ वटा (क्यान्सरसम्बन्धी एउटा) तीनवटा समाचार हुनुपर्ने बताए । पुरस्कारका लागि देशभरका पत्रकारहरुले प्रतिस्पर्धामा भाग लिन सक्ने पनि उनको भनाइ छ ।
आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले २ लाख रुपैयाँको अक्षय कोषबाट आउने रकमबाट एक जना पत्रकारलाई नगद २० हजार रुपैयाँबाट सम्मान गर्ने बताए । उनले पुरस्कारको नाम ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ नाम राखिएको जानकारी गराए ।
उनले पुरस्कारका लागि माघ ४ देखि ४ फागुनसम्म आवेदन खुल्ने र स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसर फागुन ९ मा वितरण हुने बताए ।
पत्रकारिता र हिंसाविरुद्धको अभियानमा क्रियाशिल रहेकी राधाको स्तन क्यान्सरबाट गत कात्तिक १४ गते निधन भएको थियो ।
उनी साढे २ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । आफूमा क्यान्सर रोग देखा परिसकेपछि उनले आफ्नो नामबाट सचेतना फाउन्डेशन स्थापना गरी जनचेतना अभिवृद्धिको अभियानमा लागेकी थिइन् ।