काठमाण्डौ उपत्यकाको वायु प्रदूषणले आँखाका बिरामी बढे

काठमाडौं, ३ माघ । काठमाण्डौ उपत्यकाको हावामा प्रदूषणको मात्रा बढेसँगै आँखाका बिरामी पनि बढेका छन् ।
प्रदूषणको कारणले आँखा रातो हुने, चिलाउने, पोल्ने, सुन्निने जस्ता समस्या धेरै बिरामीले लिएर अस्पताल आएको तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर रचना सिंहले बताइन ।
अहिले दैनिक अस्पताल जाने मध्ये धेरैमा प्रदूषणका कारण भएको समस्या देखिएको छ । दुई हप्ताअघि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको थियो । अहिले पनि देशका धेरै ठाउँमा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा रहेको डा. सिहंको भनाई छ ।
प्रदूषणका कारण हुने समस्या धेरैजसोको सामान्य उपचारमा ठिक हुने भए पनि केही गम्भीर प्रकृतिको समस्या भएका बिरामी समेत आउने गरेका छन् । प्रदूषणले आँखामा गम्भीर प्रकृतिको समस्या समेत देखिने हुँदा घरबाहिर निस्कँदा सावधानी अपनाउन डा. सिहको आग्रह छ ।
आँखामा धुलो परेजस्तो हुने, बिझाउने, चिलाउने, पोल्ने जस्ता नयाँ प्रकृतिको समस्या देखिए तत्काल आँखा अस्पताल जान उनको सुझाव छ ।