भारतमा उत्पादित खोपलाई नेपालमा अनुमति दिने आधार कस्ता छन् ?



Download our app to get more features

बीबीसी, ३ माघ । अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।

उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।

नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित 'कोभिशील्ड' नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो ।

औषधि व्यवस्था विभागले शुक्रवार जारी गरेको वक्तव्यमा "विभागीय निर्णयअनुसार" उक्त खोपलाई "आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति" दिइएको उल्लेख छ ।

अनुमतिका लागि लिइएका आधार कस्ता ?
औषधि व्यवस्था विभागले बुधवार मात्र कोभिड-१९ को खोप दर्ताका लागि आयातकर्ताहरूलाई आह्वान गरेको थियो ।

उक्त आह्वानअनुसार हालसम्म तीनवटा निवेदन परेको तर तत्काल आवश्यक मापदण्डहरू पूरा गर्नेमा सीरमको खोप मात्र भएकाले उसैले पहिलो अनुमति पाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

उनले भने, "अन्य निवेदनहरूबारे पनि हामी क्रमश: निर्णय गर्दैँ जानेछौँ। यो एउटाले मात्र अनुमति पायो भन्ने होइन ।"

उनका अनुसार 'हुकम डिस्ट्रिब्युटर एन्ड लजेस्टिक प्रालि'ले नेपालमा अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने अनुमति पाएको हो ।

१. अन्तर्राष्ट्रिय मान्यता
विभागले उक्त खोपलाई नेपालमा प्रयोगको अनुमति दिनका लागि अन्तर्राष्ट्रिय मान्यतालाई हेरेको केसीले बताए ।

उनले भने, "यसको उत्पादन भएको देशमा र अन्यत्र पनि पाएको अनुमतिलाई हामीले हेरेका छौँ ।"

उक्त खोपले यूकेसहित भारतमा पनि आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ ।

केसीका अनुसार नेपालले हालै मात्र औषधि ऐनलाई अध्यादेशमार्फत् संशोधन गरेर आपत्कालीन अवस्थामा प्रयोग गर्न दिने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार उक्त औषधिले अनुमति पाएको हो ।

२. नेपालको पूर्वाधार सुहाउँदो
विभागले हेरेको अर्को मुख्य आधार भनेको नेपालको स्वास्थ्य पूर्वाधार पनि रहेको उनले बताए।

केसीले भने, "धेरै चिसोमा भण्डारण गर्नुपर्ने हाम्रोमा उपयुक्त हुँदैन । तर यो दुई देखि आठ डिग्री सेल्सीअसमा भण्डारण गर्न सक्ने भएकाले हाम्रो आपूर्ति प्रणालीमा यसलाई प्रयोग गर्न सकिन्छ। त्यसैले यसलाई अनुमति दिइएको हो ।"

अन्य कतिपय खोपहरूलाई उच्च चिसोमा राख्नुपर्ने अवस्था छ । तर, यो खोप भने अन्य खोपहरू भण्डारणकै पूर्वाधारमा पनि भण्डारण गर्न सकिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

अन्य दुई खोपको पनि निवेदन
केसीका अनुसार अन्य दुई खोप आयात गर्न चाहनेहरूले पनि निवेदन दिएका छन् । त्यसमा चीनको 'सिनो फर्मा'ले विकास गरेको र भारतको भारत बायोटेकको 'कोभ्याक्सीन' रहेका छन् ।

सिनो फर्माका लागि थप कागजपत्र पेस गर्न भनिएको र भारतको खोपको प्रमाणपत्रहरूको अध्ययन भइरहेको उनले बताए ।

उनले भने, "यदि उहाँहरूले पनि सबै कागजपत्र पूरा गर्नुभयो भने अनुमति पाइहाल्नुहुन्छ ।"

Last modified on 2021-01-16 16:12:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts