सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम सुरु



Download our app to get more features

सल्यान, २ माघ । सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टलाई पहिलो सदस्यता दिँदै सल्यानमा स्वास्थ्य बिमा शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा दुई जना जेष्ठ नागरिक र अपांगता भएका एक जना व्यक्तिको परिवारहरूलाई पनि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा बिमित गरिएको थियो ।
जिल्लाका दस वटा पालिकाका ८३ वटै वडा समेट्ने गरी कार्यक्रम लागू भएको हो । स्वास्थ्य बिमा सुरु गर्नेमा सल्यान कर्णाली प्रदेशको अन्तिम जिल्ला हो भने नेपालमा ६३औं जिल्ला बनेको छ । यसै वर्षभित्र देशका ७७ वटै जिल्लामा यो कार्यक्रम पुर्याउने लक्ष्य रहेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पाँच जनासम्मको परिवार हुनेले वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको बताए । त्यसभन्दा बढी प्रतिसदस्य सात सयका दरले थप रकम तिनुपर्ने छ । बिमित परिवारलाई सूचीकृत अस्पतालबाट एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध हुने बसौलाले जनाकारी दिए ।
७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति विपन्न परिवार, एचआईभी लगायत गम्भीर रोग लागेका परिवारलाई निःशुल्क बिमा गराइने उनको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडाहरुमा कर्मचारीहरु परिचालन गरिने छ । 
 

Last modified on 2021-01-15 12:38:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts