धुलो र धुवाँको संक्रमणबाट कसरी बच्ने ?
काठमाडौं, २ माघ । काठमाण्डौ उपत्यकालगायतका मुख्य शहरी क्षेत्रमा धुवाँ धुलोको समस्या नयाँ पनि होइन । धुवाँ धुलोले एलर्जी हुने, आँखा चिलाउने, घाँटी खसखस हुने, खोकी लाग्ने, श्वास नली सुन्निने जस्ता समस्या देखा पर्छ । यसले दीर्घकालीन समस्या पनि निम्त्याउँछ ।
देखा पर्ने लक्षण
- नाक चिलाउने, नाकबाट पानी बग्ने ।
- हाच्छ्यूँ आउने ।
- घाँटी चिलाउने ।
- कान चिलाउने ।
- घाँटी दुख्ने ।
- खानेकुरा निल्न गाह्रो हुने ।
- सामान्य ज्वरो आउने ।
- जीउ दुख्ने ।
धुवाँ धुलोले गर्ने असर
धुलो धुवाँले श्वाप्रश्वाससम्बन्धी हरेक अंगलाई असर गरेको हुन्छ । नाकदेखि छातीसम्म नै असर गर्छ ।
नाक सुख्खा हुने हुन्छ ।
नाकको पछाडि धुलो जम्ने र त्यसले गर्दा घाँटीमा सुख्खापन भएर बिझाउने हुन्छ ।
घाँटीमा केही अड्किएजस्तो हुन्छ ।
घाँटी दुख्ने, कोक्याउने समस्या हुन्छ ।
बच्ने उपाय
- मास्क लगाएर मात्रै घरबाहिर निस्कने ।
- हाच्छियूँ गर्दा मुख छोप्ने ।
- बालबालिकामा यस्तो समस्या छ भने तीन, चार दिन घरमा नै आराम गराउने ।
- बिहान बेलुका नियमित ब्रस गर्ने ।
- कसै कसैलाई दही मोहीजस्ता डेरीका उत्पादनले असर गर्ने हुन्छ, त्यो नखाने ।
- चिल्लो, पिरो मसला धेरै भएको खानेकुरा नखाने ।
- खाना खानेबित्तिकै नसुत्ने ।
- घाँटी अलिअलि दुख्दैमा आफैं औषधि किनेर नखाने, किनभने ‘एन्टिबायोटिक’को मात्रा धेरै भएर पछि औषधिले काम गर्न छोड्छ । त्यसैले डाक्टरलाई देखाएर मात्रै खाने ।
घरमा नै गर्न सकिने उपाय
- नुन पानीले कुल्ला गर्ने
- फिटकिरी पानीले कुल्ला गर्ने
- सिटामोल खाने,
- मुख सफा गर्ने
- आराम गर्ने ।
(विना न्यौपानले वीर अस्पतालमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर अनिता जिसीसँग गरेको कुराकानीमा आधारित)