प्रधानमन्त्रीको झुटो दावी: गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रिया अझै थालिएन

धनगढी, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुुस २४ गते नेकपा सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको जनसभामा गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन प्रक्रिया थाले भन्दै भाषण गरे । तर, प्रधानमन्त्री ओलीको भनाइ अनुसार गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा लैजानेबारे तत्काल कुनै प्रक्रियामा नगएको पाइएको छ ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदका अनुसार प्रतिनिधिसभाको हिउँदे अधिवेशनबाट विद्येयक पास भएर मात्र कुन प्रारुपमा जानेबारे टुंगो लाग्ने बताए । तर प्रतिनिधि सभा विघटन भएपछि अन्यौलता भएको छ ।
मेडिकल कलेजको प्रारुपको टुंगो नलाग्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि अन्य सबै प्रक्रिया ठप्प भएका छन् ।
लामो समयदेयिख कुन प्रारुपमा सञ्चालन गर्नेबारे अन्यौल रहेकै बेला हालै धनगढीमा आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मेडिकल विश्वविद्यालय बनाउन प्रक्रिया थालिएको दावी गरे । तर प्रधानमन्त्रीको भनाइअनुसार कुनै पनि प्रक्रिया थालिएको छैन ।
यसबारे सरकारी अधिकारी नै बेखबर देखिएका छन् । समितिका कार्यकारी निर्देशक साउँदले भने, “हामीले पनि प्रधानमन्त्रीले धनगढीमा आएर मेडिकल विश्वविद्यालय बनाउने बताएको जानकारी पायौं । तर अन्य प्रक्रिया अगाडि बढेको जानकारी छैन । हामीले निर्माणको काम हेर्ने हो । विश्व विद्यालय लगायतको प्रारुपको कामका लागि समिति छ । उहाँहरुलाई बढी जानकारी होला ।”
२०७३ सालदेखि मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम थालिएकोमा झण्डै ८० प्रतिशत कामख सम्पन्न भएको छ । गेटालाई कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने चर्चा भनेर चर्चा हुँदै आएको छ । तर, पछिल्ला पटक प्रधानमन्त्री ओलीले भने मेडिकल विश्वविद्यालय बनाउने भनेर भन्दै हिँडेका छन् ।
प्रधानमन्त्रीकै घोषणापछि मेडिकल विश्वविद्यालयका आवश्यक प्रक्रिया अगाडि बढ्ने विश्वास गरिएको छ । गेटालाई मेडिकल कलेजका रुपमा सञ्चालन गरि विश्वविद्यालय बनाउन सकिने बताउन थालिएको छ ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले प्रधानमन्त्रीले नै भनिसकेकोले प्रक्रिया थाल्ने विश्वास व्यक्त गरे ।
उनले भने, “अहिले सम्म भएको छैन् । तर प्रधानमन्त्रीले मेडिकल विश्वविद्यालय बनाउने भन्नुभयो। हामीलाइ जानकारी छैन् । प्रदेशका मन्त्रीहरु, संघका मान्य र प्रदेशका मान्यहरुको पनि विश्वविद्यालय बनाउनुपर्ने धारणा छ ।”
२०५५ सालदेखि चर्चामा रहेको गेटा मेडिकल कलेज २०६६ सालमा मात्र घोषणा भएको थियो। चिकित्सा शिक्षाका अभियानकर्ता डाक्टर गोविन्द केसीसँग भएका सम्झौतामा गेटामा २०८० सालभित्र एमबीबीएस अध्यापन गराउने उल्लेख गरेको थियो । तर प्रारुपबारे टुंगो नलाग्दा अन्यौलता कायमै छ ।