जिन सिक्वेन्सिङका लागि शंकास्पद स्वाब हङकङ पठाइयो
हप्तादिनमा नतिजा आउने

काठमाडौं, २८ पुस । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बेलायतबाट फर्केकामध्ये शंकास्पद ६ जनाको स्वाब परीक्षणका लागि हङकङ पठाएको छ ।
सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि फैलिन सक्ने भन्दै बेलायतबाट नेपाल फर्केकाहरुको पिसिआर परीक्षण गर्दा शंकास्पद देखिएका ६ जनाको स्वाब जिन सिक्वेन्सिङ गर्नका लागि आइतबार हङकङ पठाएको हो ।
नेपालमा जिन सिक्वेन्सिङ गर्ने मेसिन नरहेको र जनशक्ति पनि नरहेकाले स्वाब हङकङ पठाइएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउनका लागि जिन सिक्वेन्सिङ गर्नुपर्ने भएकाले स्वाब हङकङ पठाइएको र अबको एक हप्ता वा बढीमा १० दिनभित्र नतिजा आइसक्ने जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा कोरोनाको जिन सिक्वेन्सिङ गर्ने मेसिन र जनशक्ति नभएका कारण स्वाब बाहिर पठाउनु परेको उनको भनाइ छ ।
गुप्ताले नेपालमा पनि भाइरसको जिन सिक्वेन्सिङ गर्ने मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल सुरु गरेको र चाँडै नेपालमै जिन सिक्वेन्सिङ गर्न सकिने पनि बताए । जिन सिक्वेन्सिङका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपाल मै भएका जनशक्तिलाई थप तालिम र प्रशिक्षण दिएर जिन सिक्वेन्सिङ गर्न सकिने उनको भनाइ छ ।