कोरोना संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्क मै बस्न मन्त्रालयको आग्रह

काठमाडौं, २० पुस । सरकारले कोरोना संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमै बस्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण पुष्टि भएकाहरुको ज्यान जोखिममा हुने भएकाले संक्रमण पुष्टि भएकाहरु जहाँ बसेपनि स्वास्थ्यकर्मीको सम्पर्कमा बस्न भनेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै संक्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल समयमै नपुग्नाले उपचार आदिमा ढिला भई ठूलो जोखिम आउने र यस अवस्थामा मानसिक तनावसमेत बढ्न सक्ने भएकाले सतर्क रहन भनेको हो ।
यस्तै अनावश्यक कोरोना परीक्षण नगराउन र नगर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले होम आइसोलेसनमा तथा अस्पताल सेन्टरमा भर्ना भएर लामो समय रहने र पटक पटक परीक्षण गरिरहने तथा नतिजा नेगेटिभ नआउञ्जेल डिस्चार्ज समेत नहुने कार्यहरु गर्दा गम्भीर प्रकृतिका बिरामीहरु उपचारबाट बञ्चीत हुने गरेकाले त्यस्तो नगर्न पनि भनेको छ ।