जुम्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या बढ्दै

जुम्ला, २० पुस । जिल्ला कारागार जुम्लामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भए पनि विगत एक वर्षदेखि पद रिक्त हुँदा कैदीको स्वास्थ्य चेकजाँचमा समस्या भएको हो ।
जिल्ला कारागारमा अहिले जम्मा १ सय १२ जना कैदीबन्दी छन् । उनीहरूको उपचारका लागि एकजना अहेवको दरबन्दी रहेको छ । तर, गएको वर्षको असोज देखि हाल सम्म दरबन्दी रिक्त हुँँदा सामान्य उपचारका लागि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धाउनुपर्ने बाध्यता रहेको जेलर प्रमुख गयाप्रसाद पाण्डेले बताए ।
स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चेकजाँचमा समस्या भोगिरहेका कैदीबन्दीले वर्षौंदेखि खानेपानी तथा बिजुलीको समस्या पनि खेपिरहेको जेलर प्रमुख पाण्डेले उल्लेख गरे ।
जुम्ला कारागारमा टुकीकै भरमा रात र तीला नदीको दुषित पानी पिउँनु पर्ने बाध्यता रहेको छ ।