गुल्मीका १६ वर्षीय सुनिल उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक

रुपन्देही, १४ पुस । गुल्मीको रेसुंगा नगरपालिका २ का १६ वर्र्षीय सुनिल विक आर्थिक अभावमा अस्पतालमा बन्धक भएका छन् । १० दिन उपचारपछि अस्पतालले डिस्चार्ज गरेपनि उपचार गरेवापतको ३ लाख १५ हजार तिर्न नसकेपछि उनी अस्पतालमै बन्धक भएका छन् ।
दुर्घटनामा परेका सुनिल तम्घासका व्यवसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छ्याउने काम गर्दै आएका थिए । उनका बुबा सहबिर विकले दिनभर काम गरेर राति फर्कने बेला रेसुंगा नगरपालिका १३ मा गत पुस ३ गते दुर्घटनामा परेको बताए ।
उनको ढाँडमा गम्भीर चोट भएपछि उपचारको लागि सोहि दिन पाल्पाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास लगिएको थियो । उपचारपछि अस्पतालले विकलाई आइतबार डिस्चार्ज गर्यो । तर, १० दिन उपचार गरेको तीन लाख १५ हजार तिर्ने उपाय नभएपछि बिरामी मजदुर विक अस्पतालमा बन्धक भएको उनका बुबा सहबिरले बताए ।
उपचार खर्च बुझाउन नसकेर अस्पतालकै बन्दक बन्ने भएपछि विकले जिल्लामा सहयोगको हार गुहार गरेका छन् । आफ्नो घरमा खाने अन्न समेत नभएको भन्दै उनका बुबा सहबिरले सहयोगको याचाना गरेका हुन् ।
काम गरेर फर्कदै गरेका विक दुर्घटनामा परेर अस्पतालमै अलपत्र परेपछि सोमबार जिल्लामा मजदुरहरुले सहयोग संकलन गरिरहेका छन् । निर्माण मजदुर हकहित संरक्षण समिति नेतृत्वमा २७ हजार ५ सय संकलन गरेर परिवारलाई प्रदान गरिएको समितीका सल्लाहकार भुवन रानाले जानकारी दिए । घाइते सुनिलका बुवा सहविर रेसुङ्गा माबिकाका सुरक्षा गार्ड हुन् ।
उनलाई विद्यालयमा प्रधानध्यापक प्रेमनारायण भण्डारीले विद्यालयमा उठाएर ५४ हजार ५ सय हजार पठाएका छन् । घाइते बिकले काम गर्ने कम्पनीका व्यावस्थापक पृतम क्षेत्रीको सोमबार ३५ हजार पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाल्पा र अस्पतालसँग समन्वय भइरहेकाले केहि उपाय नभए सरोकारवालासंग सहयोेग जुटाएर भएपनि उद्दार गर्ने बताइन् ।
अटो दुर्घटनामा चालक रेसुंगा नगरपालिका १२ का ३० वर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका २ का १७ वर्षीय सुरज विकको मृत्यु भएको थियो भने रेसुङ्गा नगरपालिका १२ का १७ वर्षीय रमेश खत्री, रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय रोशन परियार, र १७ बर्षीय सुनील विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।