मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाइयो

काठमाडौं, १२ पुस । सरकारले मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई हटाउने निर्णय गरिएको बताए ।
उनले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको उपस्थितिमा आइतवार इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले मेडिकल कलेज बाहेक सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय भएको बताए ।
उनले आइतबारबाटै लागु हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्था गरिएको र निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमा भने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले सोध भना दिने जानकारी गराए ।
आवश्यकता परेमा फेरी कुनै पनि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोभिडका बिरामीको उपचारका लागि निजी अस्पतालहरु तयारी अवस्थामा भने रहनुपर्ने छ ।