नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघ्यो, थप ८ सय ४० स्वस्थ

काठमाडौं, ११ पुस । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ्४९ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ८ सय ४० जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १ सय ३९ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ७ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ५ हजार ४ सय ३४ पिसिआर परीक्षण गर्दा २ सय १३ महिला र २ सय ८७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ रहेको छ भने ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन् ।