भाइरस म्यूटेशन प्राकृतिकः नेपालमा पनि जोखिम उच्च, जानौं भाइरस म्यूटेशन के हो ?

काठमाडौं, १० पुस । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारले विश्वको ध्यान आफूतिर आकर्षित गरेको छ ।
पछिल्लो केहि समयदेखि बेलायतमा कोरोना भाइरस अन्तर्गतकै फरक प्रजातिले संक्रमण दर तीव्र गतिमा फैलाउन थालेपछि सर्वसाधारणदेखि विश्वकै सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठनको ध्यान पनि यसतिर तानिएको छ ।
बेलायत सरकारले मुलुकमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस म्युटेड भएको भन्दै देशव्यापी कडाईं गरेको छ । अन्य मुलुकहरुले पनि बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखि बेलायतसँगको यातायातमा प्रतिबन्ध लगाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार म्यूटेशन भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । कोरोनाको दोस्रो वा तेस्रो लहर सुरु हुँदै गर्दा विज्ञहरुले पनि कोरोना भाइरस म्यूटेशनमा गएको भन्दै सबैलाई सचेत गराएका थिए ।
विशेष गरि युरोपिय मुलुकहरुमा नियन्त्रणमा आइसकेको कोरोना संक्रमणको दोस्रो लहर अगस्ट/सेप्टेम्बरतिर तीव्र गतिमा फैलिन थाल्यो । जसलाई ध्यानमा राखि स्पेन, जर्मनी, इटली लगायतका मुलुकले प्रतिबन्धहरु थप्ने र कडाईं गर्न थाल्यो ।
यसै वर्षको जुलाईमा अमेरिकाको टेक्सासको ह्यूस्टनमा कोरोना संक्रमणको दोस्रो चरणको लहर देखिएको थियो । संक्रमणको लहर देखिएपछि गरिएके अध्ययनका क्रममा ९९ दशमलव ९ प्रतिशत केस कोरोनाको नयाँ म्यूटेशन पत्ता लागेको थियो । जसको नाम D614G दिइयो । कोरोना भाइरसको नयाँ स्ट्रेन D614G लाई लिएर पहिले पनि केही तथ्यहरु फेला परेको थियो । MedRxiv को प्रिप्रीन्ट संस्करणमा प्रकाशित एक अध्ययनका अनुसार नयाँ म्यूटेशन अत्यधिक संक्रामक तर तुलनात्मक रुपमा कम खतरनाक र कम मृत्यु गराउने रहेको बताइयो । भाइरस म्यूटेशनपछि त्यसले मानिसमा संक्रमण तीव्र गतिमा गराउने र मानिसमा भाइरसको लोड पनि अहिलेको भाइरसको भन्दा ७० देखि ९० प्रतिशत बढी हुने बताइएको थियो ।
अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजका भाइरोलोजिस्ट डेविड मरेन्सले नयाँ भाइरस अत्यधिक संक्रामक हुन सक्नेछ जसले कोरोनालाई नियन्त्रणमा लिनका लागि गरिने प्रयासमाथि प्रभाव पार्न सक्ने उल्लेख गरेका छन् ।
उनको अनुसार कोरोनाको नयाँ म्यूटेशनले स्पाइक प्रोटिनको संरचनामा परिवर्तन ल्याउने काम गर्छ । अमेरिकाको ह्यूस्टनमा भाइरसकोे कुल ५ हजार ८५ सिक्वेन्सको अध्ययन गरिएको थियो । जसमा कोरोनाको पहिलो लहरको क्रममा मार्चमा ७१ प्रतिशत केस नयाँ म्यूटेशनयुक्त रहेको पत्ता लागेको थियो भने मे महिनामा दोस्रो लहरको क्रममा नयाँ म्यूटेशनयुक्त केसको संख्या ९९ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकाको शिकागो यूनिभर्सिटी र टेक्सास यूनिभर्सिटीको टोलीले गरेको अध्ययनमा नयाँ म्यूटेशनले संक्रमित मानिसमा भाइरल लोड अत्यधिक हुने गरेको जसका कारण मानिसहरु बढी संक्रमित हुन सक्ने पनि उल्लेख गरिएको छ ।
भाइरस म्यूटेशन के हो ?
भाइरस म्यूटेशन हुनु भनेको प्राकृतिक प्रक्रिया हो । भाइरस म्यूटेशन सामान्यतया भाइरहन्छ र यसमा भाइरसको जिनले आफ्नो स्वरुप परिवर्तन गर्ने गर्छ । यसलाई जेनेटिक म्यूटेशन पनि भन्ने गरिन्छ । भाइरस एक व्यक्तिमाबाट अर्को व्यक्तिमा सर्ने क्रममा म्यूटेट हुन सक्छ वा आफै पनि रेप्लिकेसनको प्रक्रियामा पनि म्युटेसन हुन सक्छ ।
कोरोनाभाइरसमो एक प्रजाति संक्रमण भएर अर्को व्यक्तिमा सर्दा भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिसकेको हुनसक्छ । यो अहिले युरोपीय मुलुक बेलायतमा तीव्र गतिमा फैलिँदै गएको छ । भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दा उसमा सार्ने क्षमता पहिलेको भन्दा निकै उच्च हुन्छ । अर्थात् वुहानमा देखिएको कोरोना भाइरसको सार्ने क्षमता ५० प्रतिशत थियो भने अहिले बेलायतमा देखिएको कोरोना भाइरस अन्तर्गतकै नयाँ प्रकारको कोरोना भाइरसको सार्ने क्षमता ९० प्रतिशतसम्म पुगेको छ ।
डेली मेलको रिपोर्ट अनुसार नयाँ स्ट्रेनको बारेमा सेप्टेम्बर २० मा नै अध्ययन सुरु भएको थियो । जुन बेला बेलायतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै थियो । नयाँ स्ट्रेन जीनोममा १७ परिवर्तन देखिएको छ । जुन तुलनात्मक रुपमा बढी हो । अहिलेको परिवर्तित भाइरस खतरनाक रहेको र पहिलेको तुलनामा ९० प्रतिशत बढी शक्तिशाली रहेको बताइएको छ ।
नेपालमा नयाँ स्ट्रेन आउन सक्ने सम्भावना कति छ ?
नेपालमा कोरोना भाइरसको नयाँ स्ट्रेन भित्रिन सक्ने सम्भावना उच्च छ । कारण बेलायतमा नयाँ स्ट्रेन सेम्टेम्बर महिना मै देखिएको थियो । सरुवा रोग विशेषज्ञ र संक्रामक रोगको विषयमा अध्ययन गदै आएका डा. शेर बहादुर पुनका अनुसार कोरोनाको नयाँ स्ट्रेन नेपाल भित्रिनुको जोखिम उच्च छ ।
उनी भन्छन्, ‘नेपाल सरकारले एक साता अघि मात्रै बाहिरबाट आएकाहरुलाई कडाईं गर्न थालेका छन् । जबकी सेप्टेम्बर महिनामै बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण सुरु भइसकेको थियो । यो अवधिमा बेलायतबाट यदि कोहि नेपाल भित्रिएका छन् भने स्वभाविक रुपमा नयाँ स्ट्रेन नेपाल भित्रिन सक्ने जोखिम हुन्छ ।’
पिसिआर परीक्षण गरेर मात्रै कोरोनाको प्रकारबारे पत्ता लगाउन सक्ने अवस्था नरहेको भन्दै डा. पुनले यदि नयाँ स्ट्रेनबारे पत्ता लगाउनु छ भने सरकारले त्यसका लागि जिन स्क्विेन्सिङ्ग गर्नु पर्ने बताए ।
उनका अनुसार सेप्टेम्बरमा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारपछि बेलायत हुँदै वा बेलायतबाटै मानिसहरु नेपाल भित्रिएका होलान् । जसको तथ्यांक सरकारले पत्ता लगाएर उनको पिसिआर परीक्षणका साथै यदि कोरोना पोजेटिभ छ भने जिन स्क्विेन्सिङ्ग गर्नु उचित हुन्छ । जसले गर्दा उनमा कोरोनाको नयाँ प्रकारबारे पत्ता लगाउन सकिन्छ र रोकथामका लागि उपयोगी हुन्छ ।
सरकारका लागि अहिले मुख्य चुनौती भनेको व्यवस्थापन रहेको उनको भनाइ छ । डा. पुन भन्छन्, ‘मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक गतिरोधका कारण जोखिम थप उच्च हुने सम्भावना छ । किनभने मानिसहरु भेला, जुलुश, सभा सम्मेलन र आन्दोलनमा जान्छन् । जम्मा हुन्छन् । जसले गर्दा कोरोनाको नयाँ संक्रमण भएका व्यक्तिले अन्यमा सार्ने जोखिम उच्च हुन्छ ।’
भिडभाडमा नजान, सभा सम्मेलनको आयोजना नगर्न भनेर सबैले भनिरहँदा अहिलेको परिवेशले जनस्वास्थ्यका मापदण्डलाई सिधै उल्लघंन गरेको हुनाले संक्रमणको जोखिम पनि बढ्ने डा. पुन बताउँछन् ।