सुदूरपश्चिममा पहिलोपटक कैलाली अस्पतालद्वारा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

धनगढी, ९ पुस । धनगढीको कैलाली अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिय सेवा सुरु गरेको छ ।
अस्पतालले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिममै पहिलो पटक हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरिएको जनाएको छ ।
अस्पतालका सञ्चालक जनकराज जोशीले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि प्रदेश बाहिर धाउनुपर्ने बिरामीको बाध्यतालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिए ।
‘हामीले सानो मेडिकलबाट सेवा सुरु गरेका थियौँ । विस्तारै छाला सम्बन्धी, मानसिक रोग, जनरल सर्जरी, अर्थोपेडिक, युरोलोजी लगायतका सेवा विस्तार गयौँ,’ जोशीले भने, ‘हाडजोर्नी र मेरुदण्डको चोट पटक सम्बन्धी शल्यक्रिया सेवा प्रदेश उपलब्ध छैन् । यो सेवा पनि हामीले सुरु गरेका छौँ ।’
सेवा सुरु गरेदेखि हालसम्म २ जनाको मेरुदण्डको सफल शल्यक्रिया समेत गरिएको जोशीले बताए ।
उनले आउँदो एक महिनाभित्र एनआईसीयू र आईसीयू सेवा, मुटु रोग सम्बन्धी सेवा पनि सञ्चालन गर्ने तयारी गरिएको बताए ।
धनगढीको मुख्य सडकमा रहेको कैलाली अस्पताल अहिले झण्डै ८ करोडको लगानीमा निर्माण गरिएको आफ्नै नयाँ भवनमा सञ्चाल गरिएको छ ।
हाडजोर्नी र मेरुदण्ड सम्बन्धी सम्पूर्ण शल्यक्रिया धनगढीमै गर्छौं – डाक्टर जोशी
कैलाली अस्पतालमा हाडजोर्नी तथा मेरुदण्ड रोग सम्बन्धीको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।
अस्पतालका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीले सबैप्रकारका शल्यक्रिया सेवा धनगढीमा उपलब्ध हुने बताए ।
‘मैले मेरुदण्डसँग सम्बन्धीत सबै समस्याको उपचार सेवा सुदूरपश्चिमबासीलाई धनगढीमै दिने भनेर म यहाँ आएको हुँ,’ डाक्टर जोशीले भने, ‘मस्तिष्क र मेरुदण्डको शल्यक्रिया जोखिमपूर्ण हुन्छ । बिरामीलाई फाईदा बढि जोखिम कम भएको अवस्थामा हामीले सेवा दिन्छौँ ।’
उनले सेवा सुरु गरेको एक हप्ताको अवधिमा अस्पतालमा हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धीका बिरामीलाई सेवा दिइएको बताए । ती मध्ये २ जनाको सफल शल्यक्रिया गरिएको बताए ।