देशभर ४८३७ जना होम आइसोलेसनमा

काठमाडौं, ५ पुस । देशभर ४ हजार ८ सय ३७ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ८ हजार ३ सय २० कुल सक्रिय संक्रमितमध्ये ४ हजार ८ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार ३ सय २७ जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा २ सय ६८, प्रदेश २ मा ४२, गण्डकी प्रदेशमा ७ सय २५, लुम्बिनी प्रदेशमा ७ सय ७३, कर्णालीमा ७४ र सुदूरपश्चिममा ६ सय २८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ५ हजार ३ सय ६४ जना संक्रमित होम आइसोलेसनमा थिए।