कोभिड–१९ विरुद्धको खोप राख्न सुदूरपश्चिम प्रदेशमा चिस्यान पूर्वाधार अभाव हुने



Download our app to get more features

धनगढी, ४ पुस । सुदूरपश्चिम प्रदेशमा कोभिड –१९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन चिस्यान उपकरण व्यवस्था गर्न र उचित व्यवस्थापन मिलाउन समस्या हुने देखिएको छ ।

धनगढीमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ वटा चिस्यान कुलर नियमित खोप भण्डारण गर्न ठिक्क रहेको जनाइएको छ । कोभिड– १९ को खोप आएमा प्रदेशमा भण्डारण र व्यवस्थापन गर्न समस्या हुने भएपनि संघीय सरकारको सहयोगमा छिट्टै चिस्यान उपकरण व्यवस्थापन गरिने प्रदेश सरकारको दाबी रहेको छ ।

कोभिड –१९ विरुद्धको खोप नेपाल आउने कहिले हो त्यो प्रस्ट छैन । तर त्यसको भण्डारणको तयारीबारे छलफल भने छेडिएको छ । सुदूरपश्चिम प्रदेशमा पर्याप्त चिस्यान पूर्वाधार छैन ।

धनगढीमा रहेको प्रदेश स्वास्थ्य केन्द्रमा रहेका ३ वटा चिस्यान कूलरमा २देखि ८ डिग्री तापक्रममा १३ हजार लिटर र माइनस ० देखि २० डिग्री तापक्रममा ११ सय लिटर मात्रै राख्ने क्षमता छ ।

त्यो प्रदेशका ९ वटै जिल्लाका लागि नियमित खोपका लागि मात्रै पर्याप्त हुने तर कोभिड– १९ विरुद्धको खोप ल्याउन परेमा अहिलेका चिस्यान उपकरण अपुग हुने बताइएको छ ।

 प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीका सूचना अधिकारी लक्ष्मीराज श्रेष्ठले भने, ‘प्रदेशभित्र अहिले नियमित खोप कार्यक्रमका लागि मात्रै हुने गरि चिस्यान उपकरण रहेका छन । कोभिड– १९ को खोप राख्नुपर्ने अवस्था आए अहिले भएको पूर्वाधारले धान्न मुस्किल हुने देखिन्छ । चिस्यान उपकरणको लागि आफू माथिल्लो निकाय आग्रह गरिसकेका छौँ ।’

सरकारले अहिले ११ रोग विरुद्ध ९ किसिमका खोप लगाउने गरेको छ । धनगढीमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले पनि रेबिज, सर्पको टोकाइ विरुद्धको खोपका साथै पीसीआर किट राख्न समेत कठिनाइ भइरहेको जनाइएको छ ।

 प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोभिड –१९ बिरुद्धको खोप भण्डार गर्ने सामथ्र्यको बिकास गर्ने काम सरकारले कहिले खोप ल्याउछ भन्न कुरामा भर पर्ने बताए । 

‘स्वास्थ्य मन्त्रालयमा ८ वटा समितिले खोपका विषयमा काम गरिरहेका छन । खोप ल्याउँदासम्म चिस्यान उपकरणको व्यवस्थापन पनि गरिने छ,’ अवस्थीले भने । 

कोभिड खोप अभियान सुरु भए नियमित खोप सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न सरकारी गृहकार्य प्रभावकारी नभएको भनेर चिन्ता व्यक्त गरिएका छन् ।

तर प्रदेश सरकारले भने संघीय सरकारले कुन खोप ल्याउने हो सोको सुनिश्चितता भएपछि तत्कालै चिस्यान केन्द्रको व्यवस्थापन गरिने बताएको छ ।

‘संघीय सरकारले कुन खोप ल्याउने भन्ने कुराको सुनिश्चितता गर्ना साथ खोप भण्डारणको पूर्वाधार तयार गर्ने भन्ने योजनामा प्रदेश सरकार छ । जसका लागि सरोकारवाला निकायसँग सहकार्य भइरहेको छ,’ सामाजिक बिकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने,  ‘जुन तापक्रममा भण्डारण गर्न सकिने खोप ल्याइन्छ सोहि अनुरुप पूर्वाधार व्यवस्थापन गछौँ ।’

कोभिड –१९ विरुद्धको खोपलाई निर्धारित तापक्रममा नराख्दा यो असरहीन हुन्छ । खोपमा रहेको गुण र यसको प्रभावकारिता कायम गर्न खोप उत्पादनदेखि ढुवानी र लगाउने बेलासम्म त्यसलाई तोकिएको तापक्रममै राख्नु पर्छ । 

कोभिड– १९ विरुद्धको खोप नेपाल ल्याउने तयारीसँगै छेडिएको बहसले सुदूरपश्चिममा खोप र अन्य स्वास्थ्य पूर्वाधार थप्ने कामलाई सहयोग गर्न सक्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts