स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको छैन, मन्त्री ढकाल

काठमाडौं, ३ पुस । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग सवालजवाफ गरेको छ।
ओम्नी ग्रुप र नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितता बारे छलफल गर्न समितिले आज ढकाललाई बोलाएको थियो। ढकालले भने ओम्नीलाई सरकारले एक पैसा नै नदिएको कारण भ्रष्टाचार नभएको दाबी गरेकाछन् ।
राज्यकोषबाट ओम्नीलाई एक पैसा पनि दिएको छैन। कसरी भयो भ्रष्टाचार ? उल्टै हामीले उसको खरिद सम्झौता रद्द गरेर उसको धरौती रकम जफत गरेका छौं। उनले भने ।
मन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै उनले आफूले मन्त्रीका रुपमा नीतिगत सहजीकरण मात्रै गरेको बताए।उनले दोषी ठहर भए कार्बाहि गर्न पनि माग गरेका छन् ।
ढकालले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार नै नभएको दाबी गर्दै आफ्नो संलग्नता खोज्न चुनौती समेत दिए। मेरो आर्थिक संलग्नता भए खोज्नुस। सत्यतथ्य पत्ता लगाउन म सहयोग गर्छुु ढकालले भने।
ओम्नीले १ अर्ब ३ करोडको सामाग्री ल्याउने सहमति भएकोमा २८ करोडको सामाग्री मात्रै ल्याएको थियो। सामाग्री ढिला ल्याएको कारण खरिद प्रक्रिया रद्द गरिएको उनले बताए।
स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अख्तियारले पनि सम्बन्धित कर्मचारीहरुसँग सोधपुछ गरिरहेको उनले समितिलाई जानकारी दिए। ढकालसँगको छलफलपछि लेखा समितिले यस विषयमा थप छानविन गर्न अख्तियारलाई निर्देशन दिने निर्णय गरेको छ।