पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गर्ने



Download our app to get more features

 काठमाडौं, ३ पुस । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो ।

मन्त्रालयका कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए ।  उनका अनुसार आउँदो आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण सुरु गरिने छ ।

उनले २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा यस परीक्षण गरिने बताए । २०० भन्दा बढी सक्रिय सङ्क्रमित, हटस्पट, ठूला सहर, घना बस्ती र सङ्क्रमणको शङ्कास्पद व्यक्तिमा परीक्षण गरिनेछु, उनले भने, परीक्षणबाट समुदायस्तरमा सङ्क्रमण कति फैलिएको छ भन्ने थाहा हुनेछ ।ु

यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले  समुदायस्तरमा सङ्क्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो । जसमा १३.९ प्रतिशत मात्र समुदायका मानिसलाई सङ्क्रमण देखिएको थियो । ठूलो सङ्ख्यामा गरिने एन्टिजेन परीक्षणबाट १५ मिनेटमा नै सङ्क्रमण भएरनभएको पत्ता लाग्ने छ ।

एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन । यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण किटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले काठमाण्डौ उपत्यकामा एन्टिजेन परीक्षण गर्दा आठ प्रतिशत मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए । 

अहिलेसम्म पीसीआर विधिबाट १८ लाख ४९ हजार १३६ को कोभिड–१९ परीक्षण गरिएको छ । प्रति दश लाखमा ६३ हजार ३६८ जनामा परीक्षण गरिएको छ ।  त्यसमध्ये दुई लाख ५० हजार ९१६ सङ्क्रमित, नौ हजार ७५७ जना सक्रिय सङ्क्रमित, दुई लाख ३९ हजार ४१६ जना निको र एक हजार ७४३ जना सङ्क्रमणबाट निको भएका छन् । अहिले सरकारी ४५ र निजी ३५ प्रयोगशालाबाट दैनिक करिब सात हजारका दरले पीसीआर परीक्षण भइरहेको छ। रासस

Last modified on 2020-12-18 10:38:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts