भक्तपुर क्यान्सर अस्पतालको विकास समिति गठन, अध्यक्षमा डा. दिपेन्द्ररमण सिंह

काठमाडौं, ३ पुस । भक्तपुर क्यान्सर अस्पतालको विकास समिति गठन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समितिको अध्यक्षमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका निर्देशक डा. गुणराज लोहनी सदस्य र चिकित्सकको तर्फबाट डा. गणेश दंगाललाई सदस्यमा नियुक्त गरेको छ ।
समितिमा भक्तपुर नगरपालिकाका मेयर पदेन सदस्य रहने व्यवस्था छ भने भक्तपुर जिल्ला अस्पतालका प्रमुख सदस्य रहने व्यवस्था छ ।
नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गर्दै आएकोमा संस्थाको व्यवस्थापन र वैधानिकतामाथि प्रश्न उठेपछि सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत गरेको थियो । सोही निर्णय अनुसार मन्त्रालयले समिति गठन गरेको हो ।
गठन आदेश अनुसार ११ सदस्यीय समितिलाई पूर्णता दिनका लागि क्यान्सर सोसाइटीबाट ३ जना र २ जना समाजसेवीका तर्फबाट सदस्य सिफारिस गर्नुपर्ने छ । जुन सिफारिस हुन हाल बाँकी रहेको छ ।
अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेल समितिका सदस्य सचिवमा रुपमा रहेका छन् ।
सरकारले गत कात्तिक २४ गते भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत नै सञ्चालन गर्ने निर्णय गरेको थियो ।